काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै सोमकार एक सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका एक सय ३९, ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ६० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसंगै नेपालमा डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
काठमाण्डौं, मोरङ, पर्सा, रौतहट र महोत्तरीमा ५ सय भन्दा बढी संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरी १ सय १३ जना कोरोना संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकीमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।