काठमाडौं – सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार धितोपत्र बजार झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदा समेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक सोमबार भने थामिएको हो ।
बजार परिसूचक नेप्से सोमबार ३ दशमलव २६ बिन्दुले उकालो लागेर एक हजार ५४० दशमलव ५१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ ।
कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ रुपैयाँमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।
कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ४३ लाख आठ हजार ६६८ रुपैयाँ बराबरको कारोबार भयो ।