मध्यबिन्दु /सोलुखुम्बु– सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गरेको ‘मेची–काली विश्व अभियान’का लागी ८० लाख भन्दा बढि रकम सहयोग प्राप्त भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको यस क्याम्पसले सञ्चालन गरेको मेची–काली अभियानबाट एक वर्षमा ८० लाख २२ हजार ४३९ रुपैयाँ क्याम्पसको खातामा जम्मा भइसकेको एक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै क्याम्पस प्रमुख उद्धवकुमार शर्माले जानकारी दिए ।
अभियानमा सहभागि भई अहिलेसम्म एक हजार ९ सय ३ जनाले सहयोग गरिसकेका छन् भने अन्य धेरै व्यक्तिहरुले सहयोगको प्रतिवद्धता जनाएको क्याम्पस प्रमुख शर्माले बताए । शर्माले सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको हैसियतमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने लक्ष्य अनुसार काम गरिहरहेको बताए ।
आज क्याम्पसले एक कार्यक्रमको आयोजना गर्दै वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । सोहि कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले अभियानलाई ३० लाख रुपैयाँ सहयोग रकम स्तान्तरण गरेका छन् भने, उद्योग व्यवसायी तथा काँग्रेस नेता प्रकाशसिंह कार्कीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । कार्कीले अभियानका लागि अन्य धेरै व्यक्ति तथा संघसंस्थालाई सहभागी गराउन सहयोग गर्ने बताए ।
क्याम्पसले मेची–काली अभियानबाट एक अर्ब रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएको छ । त्यस्तै, क्यम्पसको आगामी पाँच वर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने लक्ष्य रहेको छ । क्याम्पसले ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्न सहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने आफ्नो लक्ष्य अनुसार अहिले सहयोग रकम संकलनको काम गरिरहेको छ ।