(धादिङ) – स्कूटर चोरी गर्ने तथा चोरीका स्कूटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १२ बस्ने रोहन महर्जन, काठमाडौं महानगरपालिका १२ टेकु बस्ने जुम्ला आचार्यबाडा गाउँपालिका १५ का २१ वर्षीय रमेश शाही, काठमाडौं महानगरपालिका १४ खसीबजार बस्ने सबिन शाक्य र धादिङ धुनिबेशी नगरपालिका ५ पुरन्डी बस्ने ४० वर्षीय कुमार रेग्मी रहेका छन् ।
धादिङ धुनिबेशी नगरपालिका ५ पुरन्डीमा चोरीको स्कूटर बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
रोहन महर्जन, रमेश शाही र सबिन शाक्यलाई उनीहरुको साथमा रहेका बा. ६७ प ५८८९ र बा ५५ प २०८४ नम्बरका स्कूटरहरु चोरी गरी ल्याएको खुल्न आएको र अन्य स्कूटरहरु कुमार रेग्मीलाई बिक्री गरिसकेको खुल्न आए पश्चात थप अनुसन्धानको क्रममा कुमारको घरबाट बा ५१ प ९१०६ र बा ८२ प ६०७१ नम्बरका स्कुटरहरु समेत प्रहरीले बरामद गरेको जनाएको छ । उनीहरु माथि चोरी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।