काठमाडौं – आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ ।
दैलेख : दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।
इनरुवा : सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए।
सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।
डाक्नेश्वरी-१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए।
बझाङ : सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।