(काठमाडौं) – आसन्न उपनिर्वाचन अन्तर्गत स्थानीय तहका लागि आकांक्ष्ँीहरुले आज मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराएका उम्मेदवारको सूची निर्वाचन अधिकृतको कार्यालय स्थानीय तहको केन्द्रबाट प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्न आयोगले बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्मको समयावधि दिएको थियो । दिउँसो साढे १ बजेपछि ३ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
मनोनयन पत्र दर्ता गराएका उम्मेदवार विरुद्ध बिहीबार ११ देखि ५ बजेसम्म उजुरी दिन सक्ने आयोगले जनाएको छ । उम्मेदवारलाई निर्वाचन चिन्ह भने मंसिर १ गते दिने आयोगको कार्यतालिका छ । उपमहानगर प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष्ँ ४३ गरी ४८ पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
यसैबीच सुनसरीको धरान उपमहानगरपालिका प्रमुखका लागि २३ जनाको उम्मेदवारी परेको छ । दलका १२ र स्वतन्त्र ११ गरी २३ जनाको उम्मेदवारी परेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिदा संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् ।
दुबै गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी भने नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि दलका तर्फबाट ११ र स्वतन्त्र ९ गरी २० जनाको मनोनयन परेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।