काठमाडौं – पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह निर्वाचनको प्राथामिक एजेन्डा बनाउने भएको छ ।
माओवादी केन्द्रले स्थानीय निर्वाचनबारे अपील जारी गर्दै समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको पनि दाबी गरेको छ ।
‘जनक्रान्तिका उपलब्धिहरुको रक्षा र सामाजिक न्याययसहित आर्थिक सामाजिक रुपान्तरण नै समाजवादउन्मुख समृद्धिको सार हो । सामाजिक न्यायसहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवादउन्मुख समृद्धिका दुई मुख्य पिलर हुन्’, माओवादीको अपिलमा छ ।
‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जानेछन्’, अपिलमा उल्लेख छ ।
माओवादीले अपिलमा सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट समाजवादउन्मुख समृद्धिको परिकल्पना गरेको उल्लेख गरेको छ ।