(काठमाडौं) – आागामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहमा बुधबार मनोनयन दर्ता हुँदैछ । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहअन्तर्गत एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुनेछ ।
सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका रिक्त अध्यक्ष पदमा निर्वाचन हुँदै छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ । यसबाहेक विभिन्न ३४ जिल्लाका ४० स्थानीय तहमा रिक्त विभिन्न वडाका ४३ अध्यक्षको पनि उपनिर्वाचनबाट पदपूर्ति गरिँदै छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानको उपनिर्वाचन हुने दिन एकैसाथ स्थानीय तहको पनि उपनिर्वाचन हुन लागेको हो ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्नसमेत वितरण गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान भने सबैको मंसिर १४ गते नै हुनेछ ।
३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् । उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।