काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको मापदण्ड तोकेको छ। काठमाडौंमा बसेको दुई दिने केन्द्रीय कमिटी बैठकले ६ बुँदे मापदण्ड बनाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
पार्टी र पार्टी नीतिप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता विकास र सुशानप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय भएको रिजालले बताए।
रिजालका अनुसार वडाध्यक्षका लागि वडा कमिटी र गाउँ/नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ भने उपप्रमुख र प्रमुखको हकमा गाउँ/नगर र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ।
त्यस्तै उपमहानगर र महानगरको हकमा भने पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने रिजालले बताए। त्यसका लागि उपमहानगर/महानगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस चाहिने उनले बताए।
पार्टीका सबै निकायलाई चैतभित्रै सिफारिस पठाउनुपर्ने समेत निर्णय भएको नेता रिजालले बताए।