स्थानीय पाठ्यक्रममा पालिकाहरूको मनपरी

95

काठमाडौं – विद्यार्थीलाई स्थानीय कला, संस्कृति र मौलिकता समेटिएको पाठ्यक्रम पढाउने नाममा स्थानीय तहहरूले मनपरी पाठ निर्माण गर्न थालेका छन् । यस्ता पाठ्यक्रममा अधिकांश स्थानीय तहले झाराटारी पाठ निर्माण गरेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले भने नेपाल भाषामा मात्रै पढाउने गरेका छन् ।

कक्षा १ देखि ८ सम्म पढाइने स्थानीय पाठ्यक्रममा नगरपालिकाले नै विद्यालयलाई हस्तक्षेप गर्दै आफूखुसी पाठ्यक्रम निर्माण गरेका हुन् । देशका अधिकांश सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भइसकेको छ । कतिपयमा लागू हुने चरणमा छ । स्थानीय पाठ्यक्रमको अंकभार सय पूर्णांकको छ । यसमध्ये पनि अंकभार बाँडेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिन्छ । कतिपयले सय पूर्णांकको नै सैद्धान्तिक पाठ राखेका छन् भने कतिपयले प्रयोगात्मक पनि घुसाएका छन् ।

स्थानीय पाठ्यक्रमलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठयक्रम प्रारूप, ०६३–७६ जारी गरेको थियो । जसमा स्थानीय पाठ्यक्रमको रूपरेखा र मोडलबारे प्रस्ट उल्लेख गरिए पनि स्थानीय तहले त्यसको पालना गरेका छैनन् । ‘नेपाल भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त देश हो, यी विविधता नेपालका विशिष्ट पहिचान पनि हुन् । उच्च हिमशृंखलासहितको हिमाली भेग, विविध जलवायुयुक्त रमणीय पहाडी भेग र उपत्यका, समतल र उर्वरभूमि भएको तराई मधेश नेपालको पहिचान हो,’ प्रारूपमा भनिएको छ । प्रारूपमा पाठ्यक्रम निर्माणमा देखिएको मनपरी रोक्नेबारे केही उल्लेख छैन । जसकारण स्थानीय तहले आफूखुसी स्थानीय पाठ्यक्रम लागू गरेका हुन् ।

स्थानीय पाठ्यक्रमको कक्षामा विद्यार्थीलाई आसपासको विषयवस्तुबारे जानकारी गराइन्छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले स्थानीय पाठ्यक्रम लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको र अरूले हस्तक्षेप गर्न नमिल्ने बताए । ‘यद्यपि, स्थानीय पाठ्यक्रम सन्तुलित हुनुपर्छ, विविधता हुनुपर्छ, विद्यालय, अभिभावक र विद्यार्थीको रोजाइअनुसार तय गर्नुपर्छ,’ उनले भने, ‘नगरपालिकाले सबैसँग समन्वय गर्नुपर्छ ।’

काठमाडौं र ललितपुर महानगरले शैक्षिक सत्र ०८० देखि स्थानीय पाठ्यक्रम लागू गरेका थिए । जसमा महानगरभित्रका सबै सामुदायिक विद्यालयले यहाँको कला, संस्कृति र सम्पदाबारे अनिवार्य नेपाल भाषामा पढाउनुपर्ने व्यवस्था गरिएको थियो । पाठ्यक्रम नै नेपाल भाषामा निर्माण गरेपछि विद्यालयहरूले पनि सोहीअनुसार पढाउन थालेका छन् । काठमाडौं महानगरभित्रका ८७ सामुदायिक विद्यालयले १ देखि ३ कक्षासम्म सय पूर्णांकको अभ्यासगत पठनपाठन, कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक, कक्षा ६, ७ र ८ मा ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन गराउँदै आएका छन् ।

ललितपुर महानगरपालिकाले ४० सामुदायिक विद्यालयमा कक्षा ३ सम्म नेपाल भाषामै पढाउन थालेको छ । अन्य तहमा पनि क्रमशः स्थानीय पाठ्यक्रम लैजाने नगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए । उनले नेपाल भाषामा पढाउने विषय राजनीतीकरण भएका कारण छलफल गरिरहेको जानकारी दिए । ‘कतिपय बालबालिकामा नेपाल भाषामै पढ्न रुचि देखाउँछन्,’ उनले भने, ‘यहाँका कला, संस्कृति नेपाल भाषासँग सम्बन्धित भएकाले पनि यही भाषामै पढाउनुपर्छ भन्ने लागेको हो ।’

तर, नेपाल भाषामा मात्रै पाठ्यक्रम सामग्री निर्माण गरिएको र विद्यार्थीले पनि नेपाल भाषा नै प्रयाग गर्नुपर्ने भएकाले गैरनेवार समुदायका विद्यार्थीका लागि यो कठिन बनेको अभिभावकहरूको गुनासो छ । शिक्षाविद् विद्यानाथ कोइरालाले भाषालाई माध्यम भनेर बुझ्ने कि विषय भनेर बुझ्ने भन्ने विषय मुख्य रहेको बताए । भाषा र त्यसको प्रयोगबारे यसमा शिक्षा आयोग र पालिकाले नबुझेको उनको भनाइ छ । ‘स्थानीय पाठ्यक्रममा जथाभावी भएको छ । भाषा र इस्युमा अस्पष्टता छ, भाषा आयोग र स्थानीय तह पनि अलमलमा छन्, भाषाविद् पनि अस्पष्ट छन्,’ उनले भने, ‘यदि एउटा भाषामा पढाउने हो भने अर्को भाषाको विकल्प पनि दिनुपर्छ । इतिहास, भूगोल, धर्म, संस्कृति र सम्पदाको विषयमा विद्यार्थीले बुझ्ने भाषामा पढाउनुपर्छ ।’

स्थानीय पाठ्यक्रम नेपाल भाषा पढ्न बाध्य
शिक्षा मन्त्रालयले स्थानीय मौलिकता, कला, संस्कृति र सम्भावनालाई उकास्न स्थानीय पाठ्यक्रमको रणनीति तय गरेको थियो । पाठ्यक्रममा विद्यार्थी र अभिभावकको रोजाइअनुसारको स्थानीय पाठ सामग्री तयार पार्नुपर्छ । काठमाडौंका सामुदायिक विद्यालयमा ६० प्रतिशतभन्दा बढी विद्यार्थी अन्य समुदायका छन् । ललितपुर महानगरका सामुदायिक विद्यालयमा पनि ५५ प्रतिशत विद्यार्थी नेपाल भाषा नबुझ्ने समुदायका छन् । तर, यी दुई महानगरले नेपाल भाषामा पढ्नैपर्ने गरी कोर्स डिजाइन तयार पारी लागू गरेका छन् ।

जन्मजात सिक्ने भाषा र बाध्यताको हिसाबले सिकेको भाषामा अन्य समुदायका विद्यार्थीले जति पढे पनि नेवार समुदायका बालकालिकासरह अंक प्राप्त गर्न नसक्ने शिक्षाविद्हरू बताउँछन् । नेपाल भाषा नेपालको आफ्नै संवत्अनुसारको भाषा भएकाले मौलिकता र भाषा संरक्षणको हिसाबले राम्रो मानिए पनि आमअभिभावकले काठमाडौं र ललितपुुर महानगरभित्र प्रयोग भएको यो अभ्यासलाई रुचाएका छैनन् । काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य स्कुलका एक अभिभावकले आफूले मगर भाषामा पढाउन खोजे पनि विद्यालयले विकल्प दिन नखोजेको बताए । ‘यदि नेपाल भाषामा पढाउने हो भने अन्य भाषामा पनि पढाउनुपर्छ, स्थानीय पाठ्यक्रमले स्थानीय विषयवस्तुलाई समेट्नुपर्छ,’ उनले भने ।

भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम नेपाली भाषामै पढाउने गरी पाठ्यक्रम निर्माण गरेको छ । यहाँ ख्वपको पहिचान भन्ने पुस्तक १ देखि ८ कक्षासम्म पढाइन्छ । सय पूर्णांकको पाठ्यक्रममा स्थानीय कला संस्कृति, सम्पदा र मौलिकतासम्बन्धी पाठ समेटिएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाले भने स्थानीय पाठ्यक्रममा स्थानीय मौलिकतासम्बन्धी विषय समेटेको छ । ‘गोदावरी सेरोफेरो’ भनेर ०८० देखि लागू गरिएको पाठ्यक्रममा प्राकृतिक तथा मानव निर्मित सम्पदा, संस्कृति, रहनसहन र मौलिकताका पाठ राखिएका छन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीय मौलिक, कला, संस्कृति र रीतिरिवाज झल्किने पाठ निर्माण गरी लागू गरेको बताए । बुढानीलकण्ठ, चन्द्रागिरि, कीर्तिपुर, सूर्यविनायक, मध्यपुर थिमीलगायत नगरपालिकाले पनि स्थानीय सेरोफेरोको विषय नेपाली भाषामै पढाउँछन् । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल भाषा पढाएकोमा अभिभावकको विरोध नभएको दाबी गरे । ‘हामीले नेपाल भाषा पढाएकोमा अभिभावकहरूको आपत्ति छैन, पाठ्यक्रम लागू गर्ने वेलामा प्रक्रिया पनि लिएका थियौँ, तर त्यस्तो विरोध आएन,’ उनले भने, ‘नेपाल भाषा नेपालको गौरव पनि हो ।’

१ देखि ८ कक्षासम्म एउटा विषय स्थानीय पाठ्यक्रमसँग सम्बन्धित हुन्छन् । यो विषय हरेक विद्यालयले पढाउनैपर्छ । यो पाठ्यक्रम निर्माण गर्ने मुख्य अधिकार सम्बन्धित विद्यालयको हो । तर, स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तह हाबी भइरहेका छन् । यही कारण जनप्रतिनिधिलाई मन परेको विषय स्थानीय पाठ्यक्रममा समेटिएका हुन् । कतिपय जनप्रतिनिधिले स्थानीय पाठ्यक्रममा मनपरी गरेका कारण पाठ्यक्रम कार्यान्वयनमा शिक्षक, विद्यार्थी र अभिभावक रुष्ट बन्ने गरेका छन् ।

उपत्यकाका कुन पालिकाले के विषय पढाउँछन् ? 
काठमाडौं महानगरले स्थानीय पाठ्यक्रममा मेह्सीके (काठमाडौंको परिचय) पढाउने गरेको छ । ललितपुर महानगरपालिकाले ललित कलाया द्य, गोदावरी नगरपालिकाले गोदावरी सेरोफेरो, भक्तपुर नगरपालिकाले ख्वपको पहिचान, महालक्ष्मी नगरपालिकाले नेपाल भाषा, कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम, गोकर्णेश्वर र चन्द्रागिरि नगरपालिकाले स्थानीय सेरोफेरोलगायत नामको पाठ सामग्री पढाउने गरेका छन् ।

पुस्तकको नाम जे–जस्तो भए पनि यो मुख्य उद्देश्य स्थानीय सम्भावना, कला–संस्कृति, इतिहास र परम्परालाई झल्काउनु रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । मौलिक र फरक ढंगेले पढाउनुपर्ने स्थानीय पाठ्यक्रमका पुस्तक बजारमा छ्याप्छ्याप्ती पाइन थालिएपछि केन्द्रले अनुगमनसमेत थालेको छ । बजारमा पाठ्यपुस्तक पाएपछि शिक्षक र विद्यार्थीले स्थानीय पाठ्यक्रमको मर्मअनुसार शैक्षिक क्रियाकलाप नगर्ने भएकाले केन्द्रले अनुगमन थालेको हो । अवैध रूपमा छापेर स्थानीय पाठ्यक्रमको पुस्तक बेच्ने प्रकाशकलाई कारबाही गरिने केन्द्रले जनाएको छ । स्थानीय पाठ्यक्रम स्थानीय तह तथा उक्त विषयको शिक्षकले नै तय गर्नुपर्ने केन्द्रको ठहर छ । नयाँपत्रिका दैनिक

समाचार वर्गहरू