स्थायी समिति बैठक बोलाउने नेकपाको निर्णय

14

(काठमाडाैं) – .नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी आइतबार र सोमबार स्थायी समिति बैठक बोलाएको छ । काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सोमबार बसेको सचिवालय बैठकले आगामी आइतबार बिहान स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले जिल्लाका विवाद मिलाउने देखि बाँकी रहेको एकता प्रक्रियालाई आगामी मंसिर २७ गते टुंग्याउनेसम्मका निर्णयहरु गरेको छ ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि गत वर्षको मंसिर २९ देखि पुष १३ गतेसम्म स्थायी समिति बैठक बसेको थियो । त्यसको ठीक एक वर्षपछि नेकपाले स्थायी समिति बैठक बोलाएको हो ।

यस्तै, बैठकले केन्द्रीय आयोग र विभागहरुको पूर्णताका लागि प्रमुख र उपप्रमुखलाई सात दिन भित्र महासचिव विष्णु पौडेल समक्ष प्रस्ताव पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सबै आयोग र विभागहरुका प्रमुख र उपप्रमुखले प्रस्ताव पेश गरेपछि सचिवालयको आगामी बैठकले छलफल गरेर पूर्णता दिने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजिनामा अस्वीकार गर्दै पूर्ववत काममा फर्किन पनि सचिवालय बैठकले निर्देशन दिएको छ ।

बैठकले विधान संशोधनका लागि स्थायी कमिटीमा प्रस्ताव पेश गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । समीक्षाका लागि उपनिर्वाचन भएका क्षेत्रका पार्टी कमिटीलाई प्रतिवेदन पठाउन नेकपाले ५ दिनको समय थप गरेको छ ।

समाचार वर्गहरू