(स्याङ्जा) – स्याङ्जाको वालिङबाट जग्गाको पुनः नापनक्सा (विशेष नापी) नापी कार्यको शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले शुक्रबार आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टीएस मेसिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरिन् ।
सो अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत उद्घाटन गरिन् । विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याङ्जामा नापनक्साका समस्या भए त्यो विशेष नापीले हिजोको नाप नक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताईन ।
‘पुनः नापनक्सा हामीले ल्यायौं । जो हिजो नापनक्सा गर्दा छुट्नु भएको छ । उहाँहरुले राहत पाउनु हुनेछ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं ।’
यो नापनक्सा डिजिटल प्रविधिको भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताईन । अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन् हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको सूक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि शुरु गर्ने योजनामा रहेको बताईन ।
धेरै उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गा जमिनको नापनक्सा गर्ने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी समस्या नहुने बताईन । अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त हुने भन्दै उनले मन्त्रालय अन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडी बढेको बताईन ।
सबै कार्यालयलाई डिजिटलाइज्ड गरेर जनताको सम्पत्ति संरक्षण गर्ने अभियानमा आफू रहेको भन्दै भनाई छ । हिजो चुनावमा गरेका संकल्पहरु पूरा गर्नका निम्ती संघीय सरकार लागिरहेको भन्दै मन्त्री अर्यालले उद्योग ग्राम, अस्पताल जस्ता पुर्वाधारहरु विकास गर्नका निम्ती प्रकृया अगाडी बढिसकेको बताईन