स्वतन्तत्राविरुद्धको विधेयक स्वीकार्य हुँदैन : अध्यक्ष दाहाल

9

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानमा राखिएको बताएका छन् । सरकार सामाजिक सञ्जाल वा मिडियालाई नियन्त्रण गर्ने पक्षमा नभएको उनले बताए । पूर्ण प्रेस स्वतन्तत्राविरुद्धको विधेयक आए त्यो स्वीकार्य नहुने उनको भनाई थियो ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘हेर्नै नसक्ने र सुन्नै नसक्ने कुराको जसरी विकास भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ ।’ न्यूनतम मान्यता भन्दा बाहिर गएर विचार व्यक्त भएको प्रति उनले दुःख व्यक्त गरे ।

नेताहरुले प्रतिवाद गरेर पार लाग्ने विषय नभएको भन्दै दाहालले सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘नेतृत्वमा हुनेहरु हैरान परेशान हुने गरेका छन् । नेताको हालत के भएको होला, पत्रकारले सोच्नुहोला ।’

सामाजिक सञ्जालमा आएका विचारले पारेका पीडाबारे उनले भने, ‘यति झुठो प्रचार हुन्छ कि घोर अन्याय हामीलाई नै हुन्छ । हामीले कहाँ आन्दोलन गर्ने ? सामाजिक सञ्जालमा खराब विचारले प्रोत्साहन पाइरहेको छ। कहिलेकाहीँ यसो हेरौ भन्ने हुन्छ। हेर्नै नसक्ने हुन्छ। आफै मात्रै खनिएको छ, खनिएको छ। कुनैकुनै कुरा यो त ठिकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि ।’

समाचार वर्गहरू