स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहको निर्देशन

14

काठमाडौं – स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना संक्रमितको सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको भन्दै त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको समेत उनले बताए ।

त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको उनले जानकारी दिए ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी प्रति केही उच्छृङ्खल व्यक्तिबाट दुर्व्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए ।

समाचार वर्गहरू