(काठमाडौं) – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रदेशमा १४ हजार बढी ऱ्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट सहित आवश्यक स्वास्थ्य सामग्री पठाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हवाई तथा स्थल मार्गबाट १४ हजार ७ सय थान आरडीटी, ७ हजार थान भीटीएम र पीपीईका सामग्री त्यहाँ पठाएको बताए ।
विभिन्न प्रदेशका २८ जिल्लामा परीक्षण विस्तार गर्ने योजना सहित स्वास्थ्य सामग्री पठाइएको उनले जानकारी दिए । यस्तै, सरकारले काठमाडौं महानगरपालिका-१३ मा तीन सय जनाको पीसीआर परीक्षण र सात सय जनाको आरडीटी परीक्षण गर्ने लक्ष्यसहित टोली खटाएको छ ।
तरकारी बजार, ढुवानी, सरसफाइ लगायत अति आवश्यक क्षेत्रमा कार्यरतहरुका लागि पीसीआर र आरडीटी परीक्षण सुरु गरिएको प्रवक्ता देवकोटाले बताए । मन्त्रालय अन्तर्गतका सम्बन्धित महाशाखा र नेपाली सेनाको टोली त्यहाँ परिचालन गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ सय ५६ जना कोरोना संक्रमित छन् ।
संक्रमित मध्ये ३५ जना निको भएका छन् । यसैबीच नेपालका २२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बिहीबार तीन जना संक्रमित थपिएसँगै २२ जिलामा दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये एक सय ९७ जना पुरुष र ४८ जना महिला रहेका छन् । नेपालमा २० देखि ५० वर्ष उमेर समूहकालाई बढी संक्रमण पुष्टि भएकोले सबै उमेर समूहकाले विशेष सावधानी अपनाउनुपर्ने प्रवक्ता देवकोटाले बताए ।