स्वास्थ्य सामग्री कुन ठाउँमा, कसरी थन्किएको छ, एक हप्ताभित्र खोज्नुस् – मन्त्री बस्नेत

10

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सक पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खटिने बताए। मन्त्री बस्नेतले भने, ‘मचाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे। म तपाईंहरू सबैको सुझाव लिएर आफ्नो समय बढीभन्दा बढी यो ठाउँलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु।’

मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए। उनले भने, ‘अब यो स्वास्थ्य सामग्री जति खरिद भएको छ। यो प्रयोगमा आएको छैन। योचाहिँ तत्काल कुन–कुन ठाउँमा, कसरी थन्किएको छ। एक हप्ताभित्र त्यसको हिसाब खोज्नुस्। र, कुन ठाउँमा बढी आवश्यक छ ? त्यसको सदुपयोग गर्नुपर्‍यो नि!’

उनले अगाडी भने ‘दुर्गम जिल्लामा त्यो सामग्री नभएको कारणले समस्या परिराखेको छ भने हामीले किन नदिने ? अथवा बिरामीको चाप धेरै भइरहेको हस्पिटलमा हामीले त्यो सामान दिँदा त्यहाँ फाइदा हुन्छ भने किन नगर्ने ? मैले बुझेसम्म यो ठूलै भोल्युममा छ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू