हत्या अभियोगमा दुई जना पक्राउ

13

सुर्खेत, रासस – चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् ।

प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

निराजनलाई गुर्भाकोटबाट र विनोदलाई महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौंको समन्वयमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार यामबहादुरको यही असोज २२ गते भान्सा कोठामा कुटपिटबाट मृत्यु भएको थियो । जिल्ला अदालतले दुवै जनालाई आठ दिन थुनामा राखी अनुसन्धान गर्न समय दिएको छ ।

“सामान्य विवाद हुँदा उनीहरुबीच कुटाकुट चलेको र सो क्रममा चिर्पट प्रयोग गरी हत्या गरेको पाइएको छ,” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले भने ।

समाचार वर्गहरू