हत्या आरोपी आलम सांसद पदबाट निलम्बित

10

काठमाडौं — हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । हत्या आरोपमा पक्राउ परेका आलमको सेवासुविधा रोकिएको छ ।

सचिवालयले सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

बम विस्फोटमा परेका घाइतेहरुलाई इँटा भट्टामा ज्यूँदै जलाएको आरोपमा कांग्रेस सांसद आलमलाई प्रहरीले आईतबार बिहान पक्राउ गरेको थियो । उनी कांग्रेस पूर्व केन्द्रीय सदस्य समेत हुन् । आलमलाई २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलम त्यति बेला रौतहट २ मा कांग्रेसका तर्फबाट उम्मेदवार थिए ।

विस्फोटमा परी घाईते भएकाहरुले घटना सार्वजनिक गर्छन भन्ने डरले आलमले आफन्त र सहयोगी मार्फत घाइतेलाई नजिकको इँटा भट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीले बयानमा भनेका छन् ।

सांसद आलमले भने विस्फोटको घट्नाको सुरु देखि नै अस्वीकार गर्दै आएका छन् । उनले विस्फोट भएकै छैन भन्दै आएका छन् ।

समाचार वर्गहरू