(काठमाडौ) – नेपाल हस्तकला महासंघले हस्तकला उद्योग व्यवसायको संरक्षणको लागि राहत प्याकेज सहितको नीतिगत ब्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को असर सबै भन्दा बढी हस्तकला क्षेत्र, पर्यटन व्यवसाय र निर्यात व्यापारमा परेको भन्दै महासंघले सरकारबाट राहत प्याकेज सहितको नीतिगत ब्यवस्था गर्न सरकार समक्ष माग गरेको हो ।
विशेष गरी अमेरिका, युरोप तथा अन्य पश्चिमी मुलुकहरुमा बढी आश्रित हस्तकला उद्योग ब्यवसाय कोभिड–१९ भाईरसको असरबाट धरासायी हुन पुगेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले बुधबार विज्ञप्ति जारी गरी स्वदेशी तथा विदेशी के्रताहरुको अर्डरहरु पनि रद्ध हुन गई आफ्नो लगानी पुँजीको साथै बैंकहरुबाट लिएको ऋण र व्याज समेत तिर्न नसक्ने अवश्थामा रहेकोे जनाएको छ । अहिलेको असहज परिस्थितिमा यसको उचित निकासका लागि सरकारसँग हातेमालो गर्दै राज्यलाई सहयोग गर्न हस्तकला महासंघ तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।
हस्तकला क्षेत्रका समस्या र समाधानका उपायहरु :
१. नेपाल राष्ट्र बैंकबाट समय समयमा ल्याउने मौद्रिक नीति तथा विभिन्न राहत र कर्जाका ब्यवस्थाहरु ठूला तथा मझौला ब्यवसायलाई मात्र केन्द्रित भई आउने गरेकोले हस्तकला लगायत घरेलु, लघु तथा साना उद्योगलाई सम्बोधन हुने छुट्टै कार्यक्रमहरु ल्याउनु पर्ने । यसै सन्र्दभमा आजको बिसम परिस्थितिलाई सम्बोधन गर्न यस क्षेत्रमा बैंकहरुको ब्याजदर आर्थिक वर्ष २०७७।७८ सम्मका लागि न्यूनिकरण तथा पुनरावलोकन गरी कम्तिमा पनि आगामी ५ वर्षका लागि सफ्ट लोनको (दीर्घकालिन ब्यवसाय प्रवर्धन कर्जा) अपरिहार्य रुपमा पर्याप्त ब्यवस्था गर्नु पर्ने ।
२. बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न हस्तकलाको निर्यात, उत्पादन मुलक हस्तकला र कृषि क्षेत्रको कम्पनी तथा फर्महरुको एक वर्षको ब्याज २ दुई प्रतिशत छुटमा पुर्नकर्जाको व्यवस्था गरिदिनुका साथै सरकारबाट कृषि तथा महिला उद्यमीहरुलाई मात्र प्रदान गर्दै आएको सहुलियत कर्जा सुविधा सम्पूर्ण हस्तकला उद्यमीहरुलाई पनि प्रदान गर्नुु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दिमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने ।
३. बैंकहरुले हस्तकला क्षेत्रका साना उद्यमी, ब्यवसायी तथा कलाकार, कालिगढहरुका लागि कम्तिमा पनि २० लाख सम्म बिना धित्तो नेपाल हस्तकला महासंघको सिफारिशमा बढीमा ६ प्रतिशत सम्म ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने । हस्तकलाका उद्यमी ब्यवसायी व्यापारीहरुले बैंक तथा बित्तीय संघ संस्थाहरुबाट लिएको ऋणको लकडाउन अवधि भित्रको व्याज पूर्ण मिनाहा हुनुपर्ने साथै विद्यमान बैंकबाट लिईएको ऋण, ब्याजको भुक्तानी इत्यादी आर्थिक वर्ष २०७७।७८ भित्र चुक्त्ता गर्न समयावधि थप्नु पर्ने ।
४. हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व मानचित्रमा अबको एक वर्ष सम्म नेपालमा बिदेशी पर्यटकहरु आउने सम्भावना पनि नरहेको कारणले नेपाली हस्तकला ब्यवसायको पर्यटकीय आन्तरिक तथा अन्तर्राष्टिय बजार शुन्य बिन्दुमा खस्किने निश्चित प्रायः छ । यस्तो अवस्थामा नेपाली हस्तकलाका सामग्रीको आन्तरिक बजार विस्तार गर्न तथा सरकारी निकायहरुमा आवश्यक हुने वा प्रयोगमा ल्याइने र उपहारको लागि चाहिने सामग्रीहरुमा स्वदेशमा उत्पादित सामग्रीहरुको प्रयोगलाई बढी प्राथमिकता दिने गरी मौजुदा सरकारी खरिद ऐनमा २० लाख भन्दा माथिको कारोवारमा भ्याटमा दर्ता हुनु पर्ने प्रावधान भएको तर हस्तकला बस्तुहरु भ्याट छुट वस्तु भएकाले हस्तकलाको कारोबारमा प्यान बिलको मान्यतालाई पनि अबिलम्ब कार्यान्वयनमा ल्याईनु पर्ने ।
५. विभिन्न अन्तर्राष्ट्रिय ब्यापार मेलामा भाग लिन नसक्ने साना तथा घरेलु उद्यमी हस्तकलाका ब्यवसायीलाई विदेशी क्रेताहरु संगको भेट गराउन नेपालमै मेलाको आयोजना गरी नेपाली हस्तकलाका सामग्रीहरुको निर्यात व्यापार वृद्धि गरी विदेशी मुद्रा आर्जन गर्ने नितिगत रुपमा नै सहयोग निति र छुटै कोषकोे स्थापना गर्नुपर्ने देखिन्छ । यस कार्यमा नेपाल सरकारलाई निजी क्षेत्रले पनि सहयोग गर्न सक्ने वातावरणको निर्माण गर्नु पनि जरुरी हुन्छ । सोहि क्रममा विगत केहि दशक देखि आन्तरिक रुपमा नेपाली हस्तकलाका सामग्रीहरुको आन्तरिक बजार बिस्तार र निर्यात व्यापार प्रवर्धनको लागि नेपाल हस्तकला महासंघले प्रत्येक बर्ष नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रकोे समेत सहयोगमा आयोजना गर्दै आएको हस्तकला व्यापार मेलालाई यस परिस्थितिमा अझ बढी आकर्षित एवम भव्य रुपमा आयोजना गरी नेपाली हस्तकलाका सामग्रीहरुको स्वदेश तथा विदेशमा प्रभावकारी रुपमा बजार विस्तार एवम हस्तकला क्षेत्रको सम्वद्र्धन प्रवद्र्धन गर्नको लागि बिशेष प्राथमिकताका साथ आगामी आर्थिक बर्षमा विशेष बजेट र ५ वर्षीय योजना सहित सरकारबाट विशेष आर्थिक प्याकेज सहितको अनुदान दिने ब्यवस्था गरिनु पर्ने ।
६. समय समयमा अन्तर्राष्ट्रिय रुपमा विदेशमा आयोजना गरिने व्यापार मेला तथा व्यवसायिक मेलाहरुमा विभिन्न मुलुकहरुसँगको लागि पहल गरी नेपाली हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवर्धनका लागि त्यस्ता मेलामा भाग लिन जाने सहभागीहरुलाई सरकारबाट विशेष अनुदान दिने ब्यवस्था हुनुपर्ने । त्यस्तै विभिन्न अन्तर्राष्ट्रिय ब्यापार मेलामा भाग लिन असक्षम उद्यमी ब्यवसायीहरुलाई विदेशी क्रेताहरुसँगको भेट गराउन नेपालमै त्यस्ता मेलाहरुको आयोजना गर्न नीतिगत रुपमा नै सहयोग निति र छुटै कोषकोे स्थापना गर्नु पर्ने र यस कार्यमा नेपाल सरकारलाई निजी क्षेत्रले पनि सहयोग गर्न सकिने गरि ब्यवस्था गरिनु पर्ने ।
७. यस बिकराल आर्थिक मन्दीको सन्दर्भका बाबजुत पनि झिनो आशाको किरणका रुपमा नेपालबाट विद्युतीय कारोबार मार्फत निर्यात ब्यवसायको एक मात्र बैकल्पिक सम्भावनालाई मध्यनजर गर्दै विद्यमान अपर्याप्त कानुनले गर्दा समस्यामा रहेको विद्युतीय कारोबारका लागि चाहिने आवश्यक अन्र्तराष्ट्रिय स्तरको निर्देशिका र कार्यविधि एवम मौद्रिक नीतिको यथाशीघ्र ब्यवस्था गरिनुपर्ने । यसका लागि विद्यमान विभिन्न अन्तर्राष्टिय मान्यता प्राप्त अनलाईन भुक्तनीको पद्धतिलाई नेपालमा पनि तत्काल मान्यता प्रदान गर्नुपर्ने ।
८. हस्तकलाको हालको प्रमुख बजार रहेका संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, जापान र चीन कोरोना भाईरसको कारण आर्थिक मन्दिमा जान सक्ने भएकोले नयाँ–नयाँ बजारको खोजी गर्नुपर्ने देखिन्छ । यसको लागि व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा ब्राजिल, पोर्चुगल, चेकोस्लोभाकिया र दक्षिण अफ्रिका नयाँ बजार हुन सक्ने भएकोले ती बजारहरुको सम्भाब्यता अध्ययन गरिनुपर्ने ।
९. कोभिड–१९ को कारणले विश्वभरी हुने रोजगार संकुचनले विदेशमा कार्यरत हजारौं युवा बेरोजगार भई नेपालमा फर्कने निश्चित रहेको अवस्थामा, देश भित्रै रोजगारी श्रृजना गर्न स्थानीय श्रोत साधन र कच्चा पदार्थमा आधारित हस्तकला वस्तुको सीपमुलक र उत्पादनमुखी तालिमको आवश्यकता हुन्छ । यस्तो छोटो अवधिको रोजगारमुखी, क्षमता अभिवृद्धि तथा विशिष्ट तालिम सञ्चालन गर्ने कार्य गर्न यस महासंघ अन्तरगत छुटैृ हस्तकला डिजाइन सेन्टर स्थापना गरी हालसम्म विभिन्न सीपमुलक रोजगारी तालिमहरु सञ्चालन गर्दै आइरहेकोले यस्तो छोटो अवधिको रोजगारमुलक हस्तकलाका वस्तुहरु उत्पादन सम्बन्धी जनशक्ति उत्पादन गर्ने तालिमको जिम्मा नेपाल हस्तकला महासंघलाई प्रदान गरी आगामी आर्थिक बर्षमा विशेष बजेट र ५ वर्षीय योजना सहित रकम विनियोजित गरियोस् । यस किसिमका कार्यक्रम प्रादेशिक रुपमा कार्यान्वयन गर्न बजेट विनियोजनको लागि प्रदेश सरकारहरुलाई पनि केन्द्रीय सरकारबाट आवश्यक निर्देशन दिनुपर्ने ।
१०. हालको यस जटिल अवस्थामा आवश्यक कच्चा पदार्थको आपूर्ति ब्यवस्था र स्वरोजगारको लागि नेपाल सरकारको तर्फबाट विगतका वर्षहरुमा र्झै सहुलियत मूल्यमा नेपाल राष्ट बैंक मार्फत विशेषत आन्तरिक बजारमा पनि उल्लेख्य खपत हुने र उल्लेख्य रोजगार दिंदै आएको चाँदीजन्य उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चाँदीको साबिककै परिमाण बमोजिम पुनः प्रदान गर्नुपर्ने र सुनको हकमा साना तथा घरेलु उद्योगी र कालिगढहरुलाई समेत केन्द्रित हुने गरी कम्तीमा पनि १०० र २०० ग्राम सम्मको सानो परिमाणमा पनि सुनको सहज आपूर्ति र बिक्रीको ब्यवस्था गरिनुपर्ने ।
११. देशको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान पुर्याईरहेको र स्वरोजगार प्रदान गर्दै आईरहेको हस्तकला क्षेत्रको विकास र निकासीमा हस्तकला मैत्री नीति नियमको अभावले समस्या आईरहको तथा हालको अवस्थामा हस्तकला मैत्री नीति नियमहरुले ठूलो भुमिका खेल्ने हँुदा हस्तकला मैत्री नीति नियमहरुको लागि नेपाल हस्तकला महासंघबाट तयार गरेको हस्तकला नीति यथाशीघ्र लागू गर्नुपर्ने ।
१२. नेपाल सरकारको निकासी विनियम बमोजिम बिना अग्रिम भुक्तानी निकासीको सीमा ३०० अमेरिकी डलर रहेकोमा अहिलेको कठिन अवस्थालाई मध्यनजर गरी कम्तिमा पनि १००० अमेरिकी डलर सम्म पुर्याउनु पर्ने ।
१३. नगद प्रोत्साहन प्राप्त गर्न मूल्य अभिवृद्धिको सिफारिस उद्योग विभागबाट गराउनु पर्ने जटिल कार्यविधि निरुत्साहित गरी निकासी सहजीकरणका कागजात र नेपाल हस्तकला महासंघको पत्रका आधारमा नै हस्तकला ब्यवसायीहरुलाई नगद प्रोत्साहन दर वृद्धि गरी कम्तीमा १० प्रतिशत प्रदान गर्नुुपर्ने ।
१४. हाल आन्तिरिक रुपमा बिकसित बजार र स्वरोजगारको अत्यधिक सम्भावना रहेको प्राकृतिक रेशाको लागि धागो निकाल्ने प्रविधि नेपालमा नभएकोले आजको यस चुनौतिपूर्ण समयमा यहाँ भएका प्राकृतिक रेशाहरुबाट बस्तु बिकासको लागि कठीनाई भएकोले प्राकृतिक रेशाको लागि यथाशीघ्र धागो निकाल्ने प्रविधि भित्र्याएर रोजगारको वातावरण श्रृजना गर्नुपर्ने ।
१५. हस्तकलाको खुद्रा तथा थोक ब्यापार गर्दै आएका ब्यवसायहरु लकडाउनको कारण पसल सञ्चालन गर्न नसकेको अवस्था छ । जसको कारण पसलको मासिक बहाल घर धनीलाई बुझाउन समस्या परेको साथै घरधनीहरुको पनि आफ्नो मुख्य आयश्रोत घर भाडानै भएकोले उनीहरुले पनि घरभाडा रकम पुरै मिनाह दिन सक्ने अवस्था नरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारबाटै यो असहज अवस्थामा उचित सम्बोधन गर्ने ब्यवस्था हुनुपर्ने । अहिलेको यस गम्भीर र असहज अवस्थाबाट हस्तकला उद्योग ब्यवसायलाई संरक्षण र सम्बद्र्वन गर्नको लागि नेपाल सरकारबाट अविलम्व राहत प्याकेज र आगामी २०७७/०७८ को बजेटबाट आवश्यक नीतिगत ब्यवस्था गर्न अपील गर्दछौं ।