हाइब्रिड धानको लोभमा डुबे किसान

8

भक्तपुर — सूर्यविनायक नगरपालिका–७ गुन्डुकी शान्ता खत्री अघिल्ला वर्षमा असोज मसान्तभित्र धान भित्र्याइसकेकी हुन्थिन् । यस वर्ष खेतमा धान हरियै छ, दाना नलाग्दा बाला निहुरिएको छैन । एक रोपनीमा लगाइएको धानको बाला निहुरिएको छैन । भुस मात्र लागेको छ । उनले ३ वर्षदेखि ‘डीवाई–२८’ जातको चाइनिज हाइब्रिड धान लगाउँदै आएकी थिइन् । ‘बितेका वर्ष राम्रै उत्पादन थियो,’ उनले गुनासो गरिन्, ‘यसपालि मात्र धानमा दूध पसेन, दाना लागेन ।’

गुन्डुकै दिलीपकुमार खत्रीले करिब डेढ रोपनी क्षेत्रफलमा धान लगाएका थिए । शनिबार धान काट्दै गरेका उनले भने, ‘अघिल्लो वर्ष १५ बोरा धान फल्ने खेतमा अहिले ३ बोरा मात्र फल्यो, त्यो पनि भुस धेरै छ । धान काट्दा लागेको ज्याला पनि उठेन ।’ उनी दाना नलागेको धानको भुस खेतको कुनामा थुपार्दै थिए । धानमा बाला लागे पनि दाना नलागेको उनी बताउँछन् । ‘डीवाई–२८ ले किसानलाई धोका दियो/पीडित बनायो,’ उनले भने ।

धानमा दाना नलाग्ने समस्या शान्ता र दिलीपको मात्र होइन, सूर्यविनायक नगरक्षेत्र गुन्डु, सिपाडोल, दधिकोट, तर्खगाल, कटुञ्जे, चाँगुनारायण नगरक्षेत्रको नगरकोट, सेराफाँट, तौथलीलगायतका किसानको पीडा एउटै छ । यस भेगका किसानले सयौं रोपनी क्षेत्रफलमा रोपेको धानमा दाना लागेको छैन । ‘७० प्रतिशत बालामा दाना लागेको छैन, पराल र भुसको थुप्रो छ,’ स्थानीय कमला खत्रीले भनिन् । लोकल बीउबाट थोरै धान उत्पादन हुने भन्दै आफूहरू हाइब्रिड बीउमा आकर्षित भएको स्थानीय किसानको भनाइ छ । तर यस वर्ष ‘डीवाई–२८’ जातको चाइनिज हाइब्रिड धानले जिल्लाका धेरैजसो किसानलाई धोका दिएको छ । उनीहरूको भण्डार रित्तो हुने भएको छ । महिनौंको परिश्रम र मिहिनेतपछि प्राप्त हुने खुसी खोसिएको छ ।

मर्कामा परेका किसानसँगको कुराकानीबाट ‘डीवाई–२८’ अनधिकृत रूपमा बिक्री गरेको पाइएको छ । ‘डीवाई–२८’ जातको धानको बीउ बिक्री गरेको काष्ठमण्डप एग्रो ट्रेडर्सले मध्यपहाडी क्षेत्रमा बिक्री गर्न नपाइने भएकाले स्थानीय बीउ बिक्री केन्द्रहरूलाई बिलसमेत नदिएको पाइएको छ । ‘उक्त धानको बीउ तराईमा मात्र लगाउन मिल्छ । त्यसैले बिल पनि दिँदैनौं, फलेन भने क्षतिपूर्ति पनि दिन सक्दैनौं भन्ने सर्तमा बीउ ल्याएको हो,’ एक बीउ बिक्री केन्द्र सञ्चालकले भने, ‘हामीले पनि किसानलाई बिल दिएका छैनौं ।’

विगतका वर्षमा प्रशस्त धान फलेकाले स्थानीय किसानले माग गरेअनुसार नै धानको बीउ बिक्रीवितरण गरेको उनले बताए । यस वर्ष भक्तपुरमा ६ टन ‘डीवाई–२८’ जातको धानको बीउ बिक्रीवितरण गरेको नाम नबताउने सर्तमा ती व्यापारीले जानकारी दिए । उक्त धानको बीउ सिफारिस नगरिएको तर किसानको मागअनुसार केन्द्रले बिक्रीवितरण गर्दै आएको उनले खुलाए ।

‘धानको बीउको प्याकेटमै तराईका लागि उपयुक्त भनेर उल्लेख गरिएको थियो । अनि भक्तपुरमा लगाउन सिफारिस हुने त कुरै भएन,’ उनले भने । काष्ठमण्डप एग्रो ट्रेडर्सबाट खरिद गरी स्थानीय बीउ बिक्री केन्द्रहरूले किसानलाई ‘डीवाई–२८’ धान बिक्री गरेको सूर्यविनायक बीउ भण्डारका शिव भाजुले बताए ।

‘डीवाई–२८’ मध्यपहाडी क्षेत्रका लागि उपयुक्त नभएको र सिफारिस नगरिएको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको भनाइ छ । ‘यो मध्यपहाडमा सिफारिस नै गरिएको छैन, बीउ कम्पनीले के आधारमा बिक्री गर्‍यो, छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ,’ केन्द्रका वरिष्ठ बाली अधिकृत एवं सूचना अधिकारी प्रकाश आचार्यले भने, ‘उक्त धान तराईका लागि मात्र हो ।’ केन्द्रले गुन्डु क्षेत्रबाट उक्त धानको परीक्षणका लागि नमुनासमेत ल्याएको जनाएको छ ।

‘नगरपालिकाले डीवाई–२८ जातको हाइब्रिड धान नलगाउन किसानलाई सचेत गराएको थियो, उहाँहरूले आफ्नो मनसायले लगाउनुभएको हो,’ सूर्यविनायक नगरपालिका कृषि शाखा प्रमुख शान्तिला बुढाथोकीले भनिन्, ‘नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको बीउ नलिई गलत बीउ लगाउँदा धोका भयो ।’ नगरपालिकाले वितरण गरेको बीउमा समस्या नभएको र खुमल ४, खुमल १० र ताइचुन २४२ जातको ४ हजार केजी धानको बीउ अनुदानमा वितरण गरेको उनले बताइन् । धानमा दाना नलागेर पीडित बनेका किसानलाई नगरपालिकाले अनुदानमा गहुँ वितरण गर्ने उनको भनाइ छ । कान्तिपुर दैनिक बाट ।

समाचार वर्गहरू