(ललितपुर) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले ललितपुरको हात्तिवनमा आफ्नो दोस्रो शाखा विस्तार गरेको छ । सात वर्ष अघि काठमाडौँको सिनामंगलमा स्थापित यस एकेडेमीले आफ्नो दोस्रो शाखाको रुपमा एकेडेमी र फुटसलको विस्तार गरेको छ ।
एकेडेमीले मुख्य प्रशिक्षकको रुपमा जगत टमाटालाई भित्र्याएको छ । जगत टमाटालाई अरु राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकले पनि प्ररिक्षणमा सहयोग गर्नेछन् । चार रोपनी क्षेत्रफलमा फैलिएको यस संस्था करीब १ करोड पचास लाख रुपैयाँको लागतमा तयार पारिएको हो ।
आवसिय व्यवस्था, इन्डोर मल्टिप्रपर्स हल सहित यस एकेडेमीले उच्च स्तरीय पूर्वाधार तयार पारेको छ । शुक्रबार एक कार्यक्रममा महालक्ष्मी नगरपालिका नगर प्रमुख रामेश्वर श्रेष्ठ, प्रदेश सभा सदस्य माधव पौडेल, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, चौधरी ग्रुपका लालबाबु प्रसाद र बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्य लाल भण्डारीले यस संस्थाको नवनिर्मित पूर्वाधारको उद्घाटन गरे ।
हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रा.लि.अन्तर्गत हात्तीवनमा वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालय फुटसल संचालनमा आएको हो । विगत सात वर्ष देखि सो एकेडेमीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ । आगामी दिनमा थप प्रतिभावान खेलाडी उत्पादन गर्न कार्यमा निरन्तर रुपमा लागिरहने उक्त एकेडेमीले जनाएको छ ।