काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् ।
उनले देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि एमाले सरकारमा गएको भन्दै त्यही विषयमा कमजोरी भए सन्तोष मान्न नसकिने बताए। एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छौं भनेर नहुने उनको भनाइ थियो ।
‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ।’ उनले भने -‘बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक/दुई जनाको मुख हेरेर हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं भनेर हुन्छ ?,’
उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको पनि बताए । उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे ।
‘हामीले नै चलाइरहेका मन्त्रालयहरुको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस् । बाहिर बजारमा फिाजाउने कुरा होइन । बजारमा भन्दै हिँड्ने, त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठीक ठाउँको छलफल, ठीक ठाउँको सुझाव, ठीक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ,’ उनको भनाइ थियो ।