काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराएका हुन् ।
नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावर लगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता पनि मन्त्री गुरुङले औंल्याए । उनले व्यापारिक फाईदा नहेरी टेलिकम लगायतका सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्नेमा जोड थिए ।
“व्यापारमा फाईदा हुँदैन कि भनेर चुुप लागेर नबसौं,” ठेकेदार कम्पनीप्रति संकेत गर्दै मन्त्री गुरुङले भने, “आफूले जिम्मा लिएको जिल्लामा समय अगावै काम सकौं ।”
मन्त्री गुरुङले देशमा भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्न सूचना प्रविधिको विकासमा ढिलाई गर्न नहुने स्पष्ट पारे । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता जनाए ।