काठमाडौं – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका रवि लामिछानेमाथि अदालतले चारवटा पक्राउ पुर्जी जारी गरेको छ ।
राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न पोखरा, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रवार प्रहरीलाई अनुमति दिएको छ । यसअघि नै उनलाई काठमाडौं जिल्ला अदालतले समेत पक्राउ गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ ।
चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध साहारा चितवन सहकारीका २४ बचतकर्ताले बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए ।