काठमाडौं – नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु २० अनुदान दिने भएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पुर्याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताइन् ।
“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, उनले भनिन्, “किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।”
दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८/७९ देखि प्रतिलिटर रु पाँच अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो ।