काठमाडौं – हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टाभन्दा बढी विद्युत् कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। यही चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ। विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ।
एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेखपढ गर्न र दैनिकी चलाउन समेत समस्या भएको छ। ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन्।
‘दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?‘, गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेका खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे।
विद्युत् भार कटौतीपछि सिमकोटमा दाउराको माग बढेको छ। एक भारी दाउराको सिमकोटमा एक हजार तिर्नुपर्ने अवस्था छ।
हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख सुशील थारूले बताए।