हेलम्बुका बोधिसत्वसहित ४ विद्यालयमा सतप्रतिशत नतिजा

144

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ स्थित बोधिसत्व मोडेल माध्यमिक विद्यालयले हालै सार्वजनिक भएको आधारभूत शिक्षा समाप्ति परीक्षा (कक्षा ८) को पालिका स्तरीय नतिजामा शतप्रतिशत नतिजा हासिल गरेको छ।

विद्यालयका अनुसार, २०७८ सालको परीक्षामा सहभागी २६९ जना विद्यार्थीमध्ये २४३ जनाले परीक्षा उत्तीर्ण गरेका छन्। विशेषतः गणित विषयमा विद्यार्थीहरूले निकै उत्कृष्ट प्रदर्शन गरेका छन्। गणितमा ७१ जनाले A+, ८२ जनाले A, र ३५ जनाले B+ ग्रेड प्राप्त गरेका छन्, जुन विद्यालयको शैक्षिक गुणस्तरको संकेतक मानिएको छ।

विद्यालय प्रशासनले यो सफलताको श्रेय विद्यार्थीको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण, प्रविधिमैत्री शिक्षण पद्धति, र अभिभावकहरूको सक्रिय सहभागितालाई दिएको छ। बोधिसत्व मोडेल माविमा शिक्षा सुधारको अभियान अन्तर्गत नियमित अतिरिक्त कक्षा, डिजिटल माध्यम प्रयोग, र विद्यार्थी–शिक्षक अन्तरक्रियामा जोड दिइँदै आएको छ। सामुदायिक विद्यालयमा हेलम्बुको यो नतिजा सम्भवत: नेपालकै उत्कृष्ट हुन सक्ने गाउँपालिकाले जनाएको छ ।

हेलम्बु गाउँपालिकाको शिक्षा शाखाले बोधिसत्व विद्यालयको यो उपलब्धिलाई क्षेत्रीय शैक्षिक क्षेत्रमै प्रेरणादायक उपलब्धि भएको बताएको छ।

विद्यालयको यो सफलताले अन्य शैक्षिक संस्थाहरूलाई पनि गुणस्तर सुधारतर्फ अग्रसर गराउने गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। “हामीले शिक्षामा निरन्तर लगानी गर्दै आएका छौं। शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले आजको यो उपलब्धि सम्भव भएको हो,” अध्यक्ष शेर्पाले भने ।

समाचार वर्गहरू