सिन्धुपाल्चोक – सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढिले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।
सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशनदिए अनुसार शुक्रबार हेलम्बु पुगेको प्राविधिक सहितको टोलि उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदका सदस्यसचिव एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदका कार्यकारी प्रमुख अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानिय सरकार सँगको समन्वयमा गत असार १ र साउन १६ गतेको बाढिले बगाएका पुल मध्ये अत्याबश्यक ठानिएको चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदका कार्यकारी प्रमुख अनिल पोख्रेलले जानकारी दिए ।
‘प्राविधिक टोलिको सर्वेक्षण अनुसार चनौटेको रातोपुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा ४-५ मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौं ।’ कार्यकारी प्रमुख पोख्रेलले भने ‘उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम शुरु गर्छौं ।’
उनका अनुसार हेलम्बुकै चुरेटार र थापाटार जोड्ने यान्त्रिक पुलको पनी सर्वे भइसकेको र सँगै निर्माणकार्य थालिने छ । प्राधिकरण, सडक विभाग र नेपाली सेनाले संयुक्त रुपमा काम गर्ने हुँदा निर्माणकार्य थालिएको १५ दिनभित्रमा उक्तपुल सम्पन्नहुने पनी कार्यकारी प्रमुख पोख्रेलले बताए ।
पोख्रेलका अनुसार हेलम्बुको सर्वे सके लगत्तै उक्त प्रविधिक टोलिले मेलम्चि र पाँचपोखरी क्षेत्रको सर्वे गरेर आवश्यकताका र प्राथमिकताका आधारमा बेलिब्रिज तथा यान्त्रिक पुलको निर्माणकार्य अघि बढाइने छ ।
‘अबको ४-५ दिनमा बाटो क्लियर गरेर सामान लाने ब्यबस्था मिलाउछौं ।’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाले भने ‘२-३ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी बाटो क्लियर गरेर सामान लाने तयारीमा छौं ।’
उक्त पुल नहुँदा हेलम्बुको १, २ र ३ नम्बर वडा पाँचपोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्चि नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पुर्णरुपमा बञ्चित रहेको अध्यक्ष शेर्पाले बताए ।
सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्रीको निर्देशनसँगै सो क्षेत्रमा बाढी जानुको कारणबारे अध्ययन गर्न पनि प्राधिकरणलाई बाटो खुलेको छ ।
प्रधानमन्त्री देउवाले अन्य मुलुकको अनुभव समेत लिएर मेलम्ची खोला र सो क्षेत्रमा लेदो बग्नुको कारणबारे अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । असार १ गते र साउन १६ गते गएको बाढीपहिरोले मेलम्ची क्षेत्रमा पाँचवटा पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पु-याएको थियो ।