काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले डँढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी दिनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।
एक सूचना जारी गरी वन डँढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गाउँपालिकामा गराएमा सूचनादाताको नाम गोप्य राखी ५० हजार पुरस्कार प्रदान गरिने जनाएको हो ।
आम नागरिकलाई असर गर्ने र कानुनले समेत बर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको व्यवस्था गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। ‘दैनिक आगलागी र वन डढेलोको घटनाहरू बढिरहेको कारणले त्यसलाई न्यूनीकरण गर्न डडेलो लगाउनेको सूचना दिनेलाई पुरस्कारको घोषणा गरिएको हो’, शेर्पाले भने, ‘गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने र त्यस्ता कार्यको न्यूनीकरण गर्न प्रयत्न गर्ने हाम्रो प्रयास हो।’
गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनध्वज लामाद्वारा जारी सूचनामा हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्न समेत सचेत गराइएको छ। अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ।