सिन्धुपाल्चोक – मेलम्चीमा चार महिनापछि बनेको अस्थायी पुल पनि बगाएपछी दसैँ मान्न आएकाहरू मेलम्चीपारि नै अलपत्र परेका छन् ।
गत १ असार र १६ साउनमा मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र फट्टेमा रहेको पक्कीपुल तथा हेलम्बु गाउँपालिकाको चनौटेको रातोपुल लगायतका चारवटा पक्कीपुल बगाएको थियो ।
त्यसयता मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थांपाल गाउँपालिकाले घरदेखि बजारसम्म आउजाउ गर्न सास्ती व्यहोर्दै आएका मेलम्चीपारिका बासिन्दाका लागि दसैँका लागि अस्थायी पुल बनाएका थिए ।अस्थायी पुल नै भए पनि स्थानीय केही हदसम्म खुसी भए । तर, त्यो खुसी दुई दिन पनि टिकेन ।
हेलम्बु र मेलम्चीमा बनाइएका अस्थायी पुल तीन दिनयताको वर्षासँगै आएको बाढीले बगाएपछि दसैँ मान्न टाढाटाढाबाट आएका आफन्तहरू पुल बगाएसँगै मेलम्चीपारि नै रोकिएका छन् ।
मेलम्चीनजिकै इन्द्रावती नदीमा हालेको ह्युमपाइप बाढीले बगाएकाले पाँचपोखरी थाङपाल जाने यातायात बन्द भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए । निर्माणकै क्रममा रहेको बाहुनेपाटीस्थित मध्यपहाडी लोकमार्गको मोटरेबल पुलबाट साना गाडी शिखरपुर र ज्यामिरे हुँदै भोताङसम्म पुगेका छन् ।