हेलम्बु–मेलम्ची क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्रीलाई निम्तो

8

काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमणको लागि निम्तो दिइएको छ ।

सिन्धुपालचोकबाट वाग्मती प्रदेश सभा सदस्य निमा लामाले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जिल्लाको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि देउवालाई अनुरोध गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

‘बाढीग्रस्त क्षेत्रको अवलोकन गरि उक्त क्षेत्रमा पुनर्निमाण कार्यक्रमलाई तीव्रता दिनका लागि हौसला प्रदान गरिदिनुहुन यस क्षेत्रका जनताको तर्फबाट र मेरोतर्फबाट पनि हार्दिक अनुरोध छ,’ लामाले देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

‘अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीले यस क्षेत्रको पीडामा कुनै सरोकार राख्नुभएन । उहाँ असार २६ मा मेलम्ची र हेलम्बु क्षेत्र त पुग्नुभयो तर त्यहाँ स्थानीयलाई प्रत्यक्ष सरकारी राहत केही पनि घोषणा गर्नुभएन,’ लामाले भनेका छन्– ‘तीनै स्थानीय तहका सरकार कांग्रेस र माधव नेपाल पक्षको रहेकाले र प्रदेश सभाको सांसद म स्वयं पनि नेपाली कांग्रेसकै रहेकाले संघिय र प्रदेश सरकार कसैको पनी पनि ध्यान गएन ।’

सांसद लामाले असार १ गतेको पहिरोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेको नदीको तटीय क्षेत्रमा पहिरो र बाढीले व्यापक क्षति गरेपछि देउवा क्याबिनेटबाट जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवादसमेत दिएका छन् ।

समाचार वर्गहरू