काठमाडौं – काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ ।
विहीबार महानगरका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।
मेयर शाक्यले काठमाडौंलाई पानी दिएको कारण हेलम्बु र मेलम्चीलाई उक्त रकम सहयोग गरेको बताएका छन् । मेयर शाक्यका अनुसार उक्त रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने भएको हो ।
यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाले हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई १०-१० लाख उपलब्ध गराउने घोषणा गरेको छ भने गोकर्णेश्वर नगरपालिकाले पनी ५ लाख उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु ३-३ लाख उपलब्ध गराउने निर्णय गरेको उप प्रमुख जानुका पराजुलीले बताएकी छीन् ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई विभिन्न राजनितिकदल, संघ संस्था, उद्योगी, व्यसायी, समाजसेवीहरुले खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराइरहेका छन् ।
गत मंगलबार अविरल वर्षासँगै आएको पहिरोका कारण मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका अधिकांश डुवानमा परेको छ । उक्त बाढी कै कारण सयौं जना घरबारविहीन बनेका छन् ।