हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

133

काठमाडौं – मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन जना मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको ज्यान भएको हो।

दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। सोही अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए।

पुल खसेलगत्तै एक जनाको ज्यान गएको भनिए पनि चिकित्सक र प्रहरीले उक्त घटनाको पुष्टि गरेका थिएनन्।शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका-४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका-७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो। बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने २ जना सामान्य छन्। उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पुर्‍याइएको छ । घटनामा बाराको सिमरा उपमहानगरपालिका-१२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन् ।

समाचार वर्गहरू