ह्वाट्सएपमा गलत अभिव्यक्ति दिएपछि मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसियो

9

काठमाडौं । बागलुङमा निर्वाचनका लागि मतदानस्थलमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो ।

मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।

उनको अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि जिम्मेवारी खोसिएको उनको भनाइ छ । निर्वाचन अधिकृतको कार्यालयले गैरेलाई पत्र पठाएर जिम्मेवारी खोसेको छ ।

पत्रमा मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ । गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ । गैरेको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए ।

समाचार वर्गहरू