(काठमाडाैं) – दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करण अन्तर्गत आज भएका विभिन्न स्पर्धामा नेपालले थप ५ स्वर्ण पदक जितेको छ । महिला २ सय मिटर ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् ।
गौरिकाले निर्धारित दूरी २ मिनेट १७ दशमलव १३ सेकेन्डमा पूरा गरिन् । पौडी प्रतियोगितामा आज भएको खेलमा गौरिका सिंहले स्वर्ण पदक जितेकी हुन् । हिजो भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा स्वर्ण पदक पाएकी उनको यो दोस्रो स्वर्ण पदक हो ।
भारोत्तोलनको पुरुष तर्फ नेपालका विकास थापाले स्वर्ण पदक जितेका छन् । पोखरामा आज भएको खेलमा उनले ८९ केजी समूहमा स्वर्ण जितेका हुन् । स्न्याच १ सय २३ तर्फ र क्लिन एन्ड जर्कमा १४६ गरी उनले कुल २६९ केजी भार उठाए ।
गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमा आज भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो । नेपाली टोलीले कुल ८ सय ३८ स्कोर गरेको थियो । सोही स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् ।
यसअघि भएको पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् । गोकर्ण गल्फ रिसोर्टमा भएको स्पर्धामा उनले स्वर्ण जितेका हुन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबहादुर राईले कास्य जिते ।
पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण जितेका छन् । उनले १४ मिनेट ५४ दशमलव २० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन् । दौडमा भारतका सुनिल दावाले रजत जिते । यस्तै, नेपालका हरि रिमालले कांस्य जिते । योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ४१ पुगेको छ ।
नेपालको ४१ स्वर्ण, २७ रजत र ४८ कास्य सहित पदक संख्या सहित १ सय १६ पुगेको छ । ८१ वटा स्वर्ण, ५१ रजत र २५ कास्य सहित १ सय ६५ वटा पदक सहित भारत पदक तालिकाको पहिलो स्थानमा रहेको छ ।