१३ औं सागको भव्य उद्घाटन

17

(काठमाडौँ) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको औपचारिक रुपमा दशरथ रंगशालमा सुरु भएको छ । सागको उद्धघाटन कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेपका सदस्य सचिव रमेश सिलवाले सम्बोधन गरेका थिए ।

नेपालले तेस्रो पटक आयोजना गरेको सागको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता औपचारिक रुपमा उद्घाटन भएको घोषणा गरिन् ।

राष्ट्रपतिको घोषणासंगै दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक रुपमा सुरु भएको छ । दक्षिण एसियाका ७ राष्ट्रले सहभागीता जनाउने प्रतियोगिताको १३ औं संस्करण काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुनेछ । सहभागी देशले कुल २६ खेलका विभिन्न स्पर्धामा आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । नेपालले तेस्रो पटक सागको आयोजना गरेको हो ।

सन् १९८४ मा नेपालबाट सुरु भएको सागको दोस्रो संस्करण सन् १९९९ मा काठमाडौंमा भएको थियो । नेपालले तेस्रो तथा अन्तिम पटक सारिएको मितिमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । सोही अनुसार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा एक भब्य कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन भएको हो ।

कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए भने क्रिकेटका पूर्व कप्तान पारस खड्काले खेलाडीको तर्फबाट शपथ ग्रहण गरेका थिए । यस्तै दिपक थापाले रेफ्री तथा निर्णायकको तर्फबाट शपथ लिएका थिए । सागमा भारत्तोलनका एक मात्र स्वर्णधारी ओलम्पियन कमलबहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोकेका थिए ।

उद्घाटन सत्रमा नेपालको कला, संस्कृति र पहिचान झल्कने विभिन्न सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै प्रकाशको प्रर्दशनी तथा आतिशबाजीले कार्यक्रमलाई भब्य बनाएको थियो । नेपालमा सञ्चालन भएको साग मंसिर १५ बाट सुरु भएर २४ गतेसम्म सञ्चालन हुनेछ ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायका विशिष्ट महानुभाव साग उद्घाटन समारोह कार्यक्रम अवलोकनका लागि रङ्गशाला पुगेका थिए ।

समाचार वर्गहरू