द्वन्द्व व्यवस्थापन नेपालले अपनाएको विधि विश्वका लागि नमुना : अध्यक्ष तिमिल्सिना

16

काठमाडौं – अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन्।

सर्बियाको बेलग्रेडमा जारी सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरण हुने बताए ।

नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य राष्ट्र सहभागी सम्मेलनमा अन्तर्राष्ट्रिय कानूनको सबलीकरणः संसदको भूमिका र संयन्त्र तथा क्षेत्रीय सहकार्यको योगदान विषयमा अध्यक्ष तिमिल्सिनाले नेपालको धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् ।

नेपालले दश वर्षे शसस्त्रद्वन्द्व समाधान गरी जनप्रतिनिधिमूलक संस्था संविधान सभाबाट संविधान निर्माण गर्दै अगाडि बढेको उनले जानकारी गराए।

अन्तर्राष्ट्रिय कानूनले अन्तर्राष्ट्रिय सरोकार र नीति निर्माणका विषयमा सहयोग गर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले विश्वमा आपासी सञ्चार र समझदारी अभिवृद्धिको एक सफल माध्यम बनेको बताए । ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणले आ–आफ्नो मुलुकमा क्षेत्रीय र विश्वको समानान्तर रुपले उन्नती एवं प्रगति गर्ने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भने।

अध्यक्ष तिमिल्सिनाले विभिन्न जातजाती, भाषभाषीहरु, धर्म संस्कृति र समुदायका रुपमा जुनसकै देश वा महादेशमा बसेपनि मानव जातिका रुपमा एउटै भएको बताए।

‘शक्तिवान र धनी राष्ट्र मात्र नभई साना राष्ट्रहरुले पनि समान रुपमा अवसर प्रदान गर्ने भएकोले पारस्परिक समझदारी, विश्वशान्तिको मान्यताका आधारमा अन्तराष्ट्रिय कानूनले मान्यता प्राप्त गर्दै आएको हामी देख्न सक्छौं,’ अध्यक्ष तिमिल्सिनाले भने।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले आईपीयूमा सहभागी राष्ट्रका प्रमुख तथा प्रतिनिधिमार्फत विश्व समुदायलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरे ।

उनले भने, ‘गौतम बुद्धको जन्मस्थल, विश्वको सर्वोच्च शिखर सगरमाथा, १२३ भाषा भाषि र १२५ जातजाती रहेको नेपालको भ्रमण गर्न निमन्त्रणा गर्दछु, ।’

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी छन्।

त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी हुनुहुन्छ । अक्टोबर १३ देखि सुरु भएको १४१ औं सम्मेलन १७ अक्टोबर सम्म चल्नेछ ।

समाचार वर्गहरू