काठमाडौं – वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई जम्मेवारीबाट हटाइएको छ । बिहीबार बसेको स्वास्थ्य मन्त्रीस्तरीय बैठकले डा. पौडेललाई मन्त्रालयमा तान्ने निर्णय गरेको हो ।
मन्त्री स्तरीय निर्णयपछि मन्त्रालयले डा. पौडेललाई मन्त्रालयमा हाजिर हुन आउने भन्दै शुक्रबार पत्राचार समेत गरेको छ । नियम अनुसार वीर अस्पतालको कार्यकारीको जिम्मेवारी अवधि दुई वर्ष हो तर पौडेलको जिम्मेवारी १५ महिना बाँकी छदै उनलाई हटाइएको छ ।
निर्देशक पौडेलले आफुलाई हटाउनुको कारणवारे जानकारी नभएको बताए । उनले आफुलाई मन्त्रालयमा हाजिर हुन भनेर पत्र आएको जानकारी दिए । ‘यो अधिनायकवाद शैली हो, काम गर्दागर्दै र सुधार गर्न खोज्दा पत्र आयो,’उनले भने ।