१८ देशमा राजदूत सिफारिस, भारतमा शर्माकै निरन्तरता

60

काठमाडौं – सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारतका लागि राजदूत शर्मालाई निरन्तरता दिने निर्णय भएको हो ।

मन्त्रिपरिषद्ले माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका सबै राजदूत पनि फिर्ता बोलाएको छ । चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठ र श्रीलंकाका लागि राजदूत वासुदेव मिश्र माओवादी कोटाबाट गएका थिए । रुसका लागि राजदूत मिलन तुलाधर र अस्ट्रेलियाका लागि राजदूत कैलाश पोखरेललाई पनि सरकारले फिर्ता बोलाएको हो । सरकारले भारतका लागि राजदूत शर्माबाहेक अन्य राजदूतहरू फिर्ता गर्ने अघिल्लो सरकारको निर्णयलाई सदर गरेको हो ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्र घिमिरे र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेलगायतको नाम मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।

चीनका लागि राजदूत प्रस्तावित ओली राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष हुन् । अमेरिकाका लागि सिफारिस रेग्मी पूर्वमुख्यसचिव हुन् भने बेलायतका लागि सिफारिस घिमिरे पूर्वसचिव हुन् । दक्षिण कोरियाका लागि सिफारिस तुम्बाहाम्फे पूर्वमन्त्री एवं पूर्वउपसभामुख हुन् ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार जर्मनीका लागि शैल रूपाखेती, दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ, इजरायलका लागि धनप्रसाद पण्डित, साउदी अरबका लागि नरेशविक्रम ढकाल, अस्ट्रेलियाका लागि कान्ता रिजाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल र स्पेनका लागि सनिल नेपालको नाम सिफारिस भएको छ ।

सरकारले मलेसियाका लागि नेत्र तिमिल्सिना, श्रीलंकामा रामकृष्ण भट्टराईलाई राजदूतमा सिफारिस गरेको छ । सिफारिस भएकामध्ये ढकाल कतारका लागि राजदूत र रिजाल इजरायलका लागि राजदूतबाट फिर्ता भएका हुन् । स्पेनका लागि सिफारिस भएका नेपाल यसअघि पोर्चुगलमा राजदूत सिफारिस भएका थिए । त्यहाँ राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरे पनि स्थापना भइसकेको छैन । उनी कार्यक्षेत्र नजाँदै सरकारले नियुक्ति खारेज गरेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू