काठमाडौं – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् ।
आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो ।
आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन् ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा गरेर १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम भएको जानकारी दिए ।
आयोगका अनुसार गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका थिए । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।