काठमाडौं – नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसँग असन्तुष्ट बन्दै अर्को चुनावमा दुवै नेताहरूलाई संसदमा देख्न नपरोस् भन्दै कटाक्ष गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्वराज्यमन्त्रीसमेत रहेका सांसद तामाङले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बजेट नपरेको भन्दै कटाक्ष गरेका हुन् ।
बजेट विनियोजनमा सिंह र पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ–आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको उनको आरोप छ। सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो। ‘२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,’, सराप्दै भनेका छन् ।
‘यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूलेरु आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हाल्ने ? यसरी चल्छ ?’, उनले सोधे। सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको उनको आरोप छ। सिंह र तामाङ दुवै कांग्रेसका सांसद हुन्।
दुवै उपप्रधानमन्त्रीहरू झिनो मतले मात्रै जितेर आएको तर आफू भने ठूलो मतान्तरसहित जितेर आएको बताए । ‘शहरी विकासमन्त्री धेरै भोटले जितेर आएको होइन, ८० भोटले मात्रै जितेर आएको हो, झुण्डिएर । हामीजस्तो १७ हजार मतले जितेर आउनुपर्छ, अनि यहाँ आएर दनक दिने हो । अर्थमन्त्रीज्यू, तपाईं कांग्रेसको फेला नपरेर हो, कांग्रेस लुते परेर हो । घण्टीले ६ सय ८३ मतले मात्रै हो, सबै रिपोर्टहरू लिएर बसेका छौँ ।’
उनले कटाक्ष गर्दै भने, ‘सभामुख महोदय, म यहाँ अन्तिममा मैले शहरी विकासको किताबलाई लिएको छु । साथीहरूले यी किताबहरू च्यात्ने काम पनि गरे । जनताले कर तिरेको पैसाले बनाएको किताब हो, म च्यात्दिनँ । म बुद्ध भगवान् र पशुपतिनाथसँग प्रार्थना गरेर, ढोगेर २०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री कुनै पनि हाउसमा नआऊन् भन्दै बुद्ध भगवान् र पशुपतिनाथसँग प्रार्थना गर्दछु ।’