२१ महिनादेखि पारिश्रमिक नपाएपछि मजदुर अनशनमा

7

बैतडी – बैतडी जिल्लाको पाटन पन्चेश्वर सडकमा कार्यरत १२ जना सडक मजदुर ( लेन्थवर्कर ) ले विगत २१ महिनादेखि पारिश्रमिक नपाएपछि अनशन बसेका छन् ।

दिउँसो काम गरी बिहान बेलुका छाक टार्ने सडक मजदुर लेन्थवर्करहरुले सम्बन्धित निकायमा पटकपटक पारिश्रमिक उपलब्ध गराउन ढोका ढकढक्याए पनि कुनै सुनुवाइ नभएपछि असार १८ गतेदेखि पाटन पन्चेश्वर सडक छेउमा अनशन बस्दै आएको आज १२ दिन पुगेको छ । चारैतिर हारगुहार गरे पनि पारिश्रमिक नपाएपछि बाध्य भएर अनशन बस्नु परेको पीडित मजदुरहरुको दुखेसो छ ।

वर्षात र टन्टलापुर घाममा अनशन बस्दा केहि मजदुर बिरामी पर्न थालेका छन् । बिरामी हुनेमा महिला मजदुर समेत रहेछ छन् । नेपाल ट्रेड युनियन कांग्रेस बैतडीले आईतवार प्रेस विज्ञप्ति जारी गर्दै २१ महिनादेखि पारिश्रमिक नपाएको घटनाको विरोध गर्दै मजदुरको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

बैतडी जिल्ला अध्यक्ष वसन्त प्रकाश विष्टद्घारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ – मजदुरले २१ महिनादेखि पारिश्रमिक नपाउनु पिडादायि मात्र नभई खेदजनक छ । मजदुरले पाउनु पर्ने उचित पारिश्रमिक २१ महिनादेखि नपाएको विषय प्रदेश सभामा उठ्दा समेत गम्भीर नहुने सुदुरपश्चिम प्रदेश सरकारलाई तत्काल श्रमिकको पारिश्रमिक उपलब्ध गराउने वातावरण निर्माण गरिदिन ट्रेड युनियन कांग्रेस बैतडीले जोडदार माग गरेका छन् ।

समाचार वर्गहरू