काठमाडौं – देशभरबाट काठमाडौंको सडकमा भेला भएर २५ दिनसम्म शिक्षा ऐन माग्दै आएका शिक्षकका रचनात्मक गतिविधिलाई सरकारको नेतृत्वले नै बेवास्ता र मानमर्दन गर्दा आन्दोलन आक्रामक बन्दै गएको छ ।
२५ दिनसम्म गीत गाएर, कविता भनेर र जादु देखाएर रचनात्मक दबाब दिँदै आएका शिक्षकहरू सर्वोच्चको आदेशपछि पनि सरकार गम्भीर नभएपछि आन्दोलनको २६औँ दिन आइतबार बानेश्वरमा निषेधित क्षेत्र तोड्न होमिएपछी मुठभेडतिर प्रवेश गरेको हो ।
आइतबार शिक्षक आन्दोलनमा पनि प्रहरीले लाठी, बुट र पानीको फोहोरा हानेर बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका छन् । आँखा, टाउको, खुट्टा, नाक र मुखमा चोट लागेका नौ शिक्षक अस्पतालमा उपचाररत छन् । चारजनाको सिभिल, तीनजनाको ट्रमा सेन्टर र दुईजनाको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन् । त्यस्तै, पानीको फोहोरा लाग्दा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ । उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले झन्डै एक महिनादेखि चल्दै आएको सभ्य, शान्त र रचनात्मक आन्दोलन दबाउन सरकार बल प्रयोगमा उत्रिएको आरोप लगाए । ‘हामी शान्तिपूर्ण तरिकाले आन्दोलनमा थियौँ, तर प्रहरीले निर्मम रूपमा लाठी र पानीका फोहोरा वर्षायो,’ उनले भने, ‘२५ दिनसम्म रचनात्मक गतिविधि गरेर माग सुनाउँदा सरकारले न त ऐन ल्यायो, न त हामीसँग वार्ता ग¥यो । यतिका दिन सडकमा आएका हामी निराश भएर फर्किँदैनौँ ।’
शिक्षक आन्दोलनमा ढुंगा र इँटा प्रहार हुँदा पाँच प्रहरी घाइते भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहरा बताउँछन् । ‘प्रहरीहरूलाई पनि ढुंगा र इँटा प्रहार भयो, पाँचजना घाइते भए, लाठी भाँचिएको छ,’ उनले भने, ‘एक लाख मूल्यबराबरको ब्यारिकेट भत्काइएको छ ।’ तर, आन्दोलनमा ढुंगा हान्नेहरूलाई नचिनेको शिक्षक महासंघका अध्यक्ष सुवेदी बताउँछन् । ‘आन्दोलनमा केहीले ढुंगा समातेको फोटोमा देखिन्छ, ती को हुन् हामीलाई थाहा छैन,’ उनले भने ।
शिक्षकहरूले आफूहरूका माग समेटेर तत्काल शिक्षा ऐन माग्दै २० चैतदेखि उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । तर, यसबिचमा उनीहरूसँग सरकारले गम्भीर वार्ता नै गरेको छैन । बरु, प्रधानमन्त्री केपी ओलीले नै शिक्षकहरूको मानमर्दन हुने गरी सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।