३० जना पर्यटकलाई पाटन दरवारमा निशुल्क प्रवेश पास

12

ललितपुर – ललितपुरको पाटन दरवार क्षेत्र भ्रमणमा आउने ३० जना विदेशी पर्यटकहरुलाई निशुल्क प्रवेश दिइएको छ । ललितपुर महानगरपालिकाले ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार पाटन दरवार क्षेत्रमा पहिला प्रवेश गर्ने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको हो ।

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले शुक्रबार विहान पाटन दरवार क्षेत्रमा सबै भन्दा पहिलो आउने ३० जना पर्यटकहरुलाई पर्यटकलाई टोपी र दोसल्ला ओढाएर स्वागत गर्दै प्रवेश पास समेत वितरण गरिन् । सुरुमा आउने ३० पर्यटकहरुलाई प्रबेश पासका अलवा चिया कफीको गिफ्ट भौचर, एक दिनको डिनर कुपन समेत प्रदान गरिएको थियो ।

ललितपुरको कला, संस्कृतिको प्रवद्र्धन गर्दै भिजिट नेपाल २०२० को प्रवद्र्धनमा समेत सहयोग पु¥याउने लक्ष्यका साथ सबैभन्दा पहिला आउने पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएकोे महानगरका संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताए ।

शुक्रबार बिहान पाटन दरवाार क्षेत्रमा हाकुपटासीमा सजिएर उपस्थित भएका नेवारी महिलाहरुले धिमे बाजामा परम्परागत नृत्य देखाएर पर्यटकहरुलाई स्वागत गरेका थिए । त्यस्तै, लाखे नाच समेत प्रदर्शन गरिएको थियो । पर्यटकहरुलाई स्वागत गर्न ज्यापू समाजका अध्यक्ष चन्द महर्जन सहितका प्रतिनिधिहरु, बौद्ध बिहार संघ, चाईनिज गाइड एसोसियसन लगायतका संघसंस्थाको प्रतिनिधिहरु उपस्थित भएका थिए ।

पर्यटन दिवसको अवसरमा आज शुक्रवारदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेष्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुुट दिने व्यवस्था गरिएको छ ।

समाचार वर्गहरू