काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनामा पनि चनाखो रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले शनिबार साँझ सामाजिक सन्जालमार्फत् समानुपातिकको मतगणनामा पनि चनाखो बन्न र त्यस्तो परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेजमा पठाउन निर्देशन गरेका छन् ।
‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ,’ ओलीले लेखेका छन्।
उनले मत परिणामको मुचुल्काको प्रति म्यासेज बक्समा पठाउन निर्देशन समेत दिएका छन् ।’जिल्ला-जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’ उनले लेखेका छन् ।