काठमाडौं / प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन् ।
भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, काँग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ ।
प्रतिनिधिसभा सदस्यको कास्की, प्रदेशसभा सदस्य बागलुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका शाही विजयी भएका छन् भने दाङको उपनिर्वाचनमा नेकपाकी विमला विजयी भएकी छन् । रासस