४ सांसद चढेको कारलाई डीएसपी चढेको कारको ठक्कर, सबै सकुशल

83

काठमाडौं – मोरङमा कोशी प्रदेशसभाका चारजना सदस्य (कोशी प्रदेशका सांसद)चढेको कार दुर्घटनामा परेको छ। उक्त कार नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)ले चलाएको कारसँग ठोक्किएर सोमबार दिउँसो दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुईवटा कार एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार विराटनगरबाट झापातर्फ जाँदै गरेको तर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगरतर्फ आउँदै गरेको बी एई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर दिउँसो २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सबै जना सकुशल रहेको जोशीले बताए ।

बी एई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । प्रहरीका अनुसार प्रदेशसभाको नीति तथा कार्यक्रम सार्वजनिक हुने बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका बेला उनीहरु दुर्घटनामा परेका हुन् ।

प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेका बेला दुर्घटना भएको हो ।

समाचार वर्गहरू