– ‘भाइरसमा बोसिय, फ्याटिय तत्व हुन्छ, तातोपानी अथवा मनतातोपानीले धोएपछि समाप्त हुन्छ ।’
– ‘कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।’
– ‘कोरोना भाइरस नाकमा आयो भने सिनित्तै फ्यालिदिनुपर्छ, केही गरी घाँटीमा पुगिहाल्यो भने खाकखुक गर्नुपर्छ, खोकेर फाल्नुपर्छ ।’
– ‘हाम्रो भान्सामा बेसार, लसुन, प्याज र टिमुर हुन्छ, त्यसले प्रतिरोधी क्षमता बलियो बनाउँछ, कोरोनाले हामीलाई केही गर्दैन ।’
– ‘नेपालीको प्रतिरोधी क्षमता बलियो छ भनेर कसले भनेको भनेर सोध्नुभयो, मैले भनेको, मैले । भर्खरै सुन्नुभएन । मैले भनेको हो ।’
– ‘हावापानीले पनि हाम्रो क्षमता बलियो बनाएको छ । मरूभूमिजन्य ठाउँहरूबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुभन्दा पहिला त्यो चिसो भइसक्छ । कायल भइसक्छ ।’
– ‘अन्य बिमारीका जटिलताले केही मान्छेको निधन भएको छ, तर विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कोरोनाले भएको भन्ने मान्नुपर्ने अवस्था छ ।’
– ‘नेपालमा कोभिड यस रूपमा बढ्छ भन्ने लागेकै थिएन, त्यसैले सरकारका थुप्रै कामहरूमा समन्वयको अभाव देखियो ।’
प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण गलत भएको स्वीकार गरेका छन् । हचुवा प्रक्षेपणका कारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव भएको पनि उनले सुनाएका छन् ।
‘नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने मलाई लागेकै थिएन । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम राम्रो छ, त्यसैले अलिअलि सर्ला, तर यो तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो मलाई लागेको थियो । त्यसकारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव देखियो,’ प्रधानमन्त्री ओलीले शनिबार साँझ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा भनेका छन् ।
कोभिड महामारीको दोस्रो लहर भयावह भएको एक महिनापछि मात्र उनले शनिबार सरोकारवालासँग छलफल गरे । यसअघि भने उनी धार्मिक जमघट र राजनीतिक भेटघाटमा व्यस्त थिए ।
कोभिड महामारीले संसार थला परेको वेला हाम्रा प्रधानमन्त्रीले ‘खाकखुक खोकेर थुकेपछि कोरोना–सोरोना भाग्ने’ दाबी गर्दै आएका थिए । नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले कोरोनाले केही नगर्ने भन्दै उनले संसद्मै भाषण गरेका थिए । कोरोनाबारे पहिलोपटक संसद्मा ६ जेठ ०७७ मा गैरजिम्मेवार टिप्पणी गरेदेखि दर्जनौँपटक उस्तै गैरजिम्मेवार दाबी दोहो¥याउँदै आएका प्रधानमन्त्रीले एक वर्षपछि मात्र कोरोनालाई गम्भीर मानेका छन् । तर, यो ३६२ दिनको बीचमा देशमा ठूलो मानवीय क्षति भएको छ, साथै कोरोना अझै अनियन्त्रित छ ।
प्रधानमन्त्रीले रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले नेपालीलाई केही पनि हुँदैन भनेर दाबी गर्दा गत ६ जेठमा देशभर कोरोनाबाट कुल संक्रमितको संख्या चार सय दुई पुगेको थियो । त्यसमध्ये तीन सय ६३ सक्रिय संक्रमित थिए भने दुईजनाको मृत्यु भएको थियो । कोरोना केही होइन भन्ने मानसिकताले उचित रोकथाम तथा उपचार र अक्सिजनको समेत प्रबन्ध नहुँदा यस महामारीबाट अहिलेसम्म पाँच हजार एकजनाको ज्यान गएको छ । अहिलेसम्म चार लाख ५५ हजार २० संक्रमित भइसकेका छन् भने एक लाख १० हजार दुई सय ३६ जना अहिले पनि कोरोना भाइरससँग संघर्ष गरिरहेका छन् ।
कोभिड महामारी आएपछि प्रधानमन्त्रीले विज्ञका विचार सुन्ने र रोकथामको उपाय अवलम्बन गर्नेभन्दा पनि विज्ञहरूलाई नै पढाउने रणनीति लिए । गत वर्ष २९ चैतमा मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले कोरोनामा ‘फ्याटीय’ तत्व हुने भएकाले तातोपानीले हात धोएमा जाने दाबी गरेका थिए । ‘भाइरस निर्जीव तत्व हो । त्यसमा बोसीय, बोसोजस्तो फ्याटीय तत्वले भाइरसलाई एउटा जीवित तत्वका रूपमा सक्रिय गराइदिन्छ । यसकारणले तातोपानीले हात धोएमा त्यसलाई मार्छ । हात धुँदा, सकिन्छ भने तातोपानीले धुने । मुख धुँदा अलिकति तातोपानी, मनतातो पानीले धुने । यो ठूलो विधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि समाप्त हुन्छ त्यहीँ’ प्रधानमन्त्रीले भाइरसलाई निर्जीव तत्व भनेकोमा पनि विज्ञहरूले आश्चर्य व्यक्त गरेका थिए । उनीहरूले यस्तो अभिव्यक्ति आफूहरूले कुनै पनि विश्वविद्यालयमा नसुनेको टिप्पणी पनि गरेका थिए ।
त्यसपछि ६ जेठमा राष्ट्रिय सभाको बैठकमा ओलीले भनेका थिए, ‘कोरोना–सोरोनाले नेपालीलाई केही असर गर्दैन किनकि नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ । नेपालीको भान्सामा मानिस निरोगी हुने तत्व हुन्छन् । भान्सामा हुने बेसार, लसुन, प्याजदेखि टिम्बुर, अदुवासम्मका चिजबिजले नेपालीलाई निरोगी राख्छ ।’
त्यसो त त्यो वेलासम्म भएको मृत्युलाई पनि उनले कोरोनाबाटै भएको हो भन्नेमा शंका व्यक्त गरेका थिए । ६ जेठसम्म कोरोनाका कारण दुईजनाको मृत्यु भएको थियो । तर, प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दै भनेका थिए, ‘कोरोनाबाट अहिलेसम्म नेपालमा दुईजनाको निधन भएको छ । कोरोनाभन्दा अन्य बिमारीको जटिलताले निधन भएको हुन सक्छ । तर, विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना लागेको छ भने अरू जुन कारणले भए पनि त्यो कोरोनाकै कारणले मृत्यु भएको मान्नुपर्छ ।’
उनले १२ जेठमा देशवासीको नाममा सम्बोधन गर्दा पनि नेपालीको प्रतिरोधी क्षमता बलियो रहेको ठोकुवा गरेका थिए । नेपालीको भान्सा नै वैज्ञानिक रहेकाले प्रतिरोधी क्षमता पनि उच्च रहेको उनको भनाइ थियो । ‘हाम्रा पूर्वजहरूले हजारौँ वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्सामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोधात्मक क्षमता बढाउन बल पु¥याइरहेका छन्,’ प्रधानमन्त्रीको भनाइ थियो ।
हिमालमा ठोक्किएर फर्कने चिसो हावाका कारण पनि नेपालीको प्रतिरोधी क्षमता बलियो भएको उनको दाबी थियो । ‘आधा नेपाली हिमाली भेगतिरै स्वच्छ हावा, स्वच्छ पानी, उकाली–ओराली हिँडेर पहाडी जनजीवनमा बसेका छन् र इस्टामिना बलियो छ । तराईमा बस्नेहरूले पनि हिमालबाट ठोक्किएर आएको हावामा सास फेरेका छन् । हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । यदि मरुभूमिजन्य ठाउँबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुभन्दा पहिला त्यो चिसो भइसक्छ । कायल भइसक्छ,’ उनको भनाइ थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । तर, उनले २८ जेठमा प्रतिनिधिसभामा पनि यस्तै अभिव्यक्ति अझ जोडजार रूपमा दोहो¥याए । ‘यहाँ दाल, चामल, मकै, भटमास, यी अनेक चिज हुन्छन् र त्यसमा बेसार, नुन, खुर्सानी अनिवार्य हुन्छ । त्यहाँ बेसार, जिरा, धनियाँ, प्याज, लसुन हुन्छ । यी सबै औषधि हुन् । हरेक दिन औषधि खाएर प्रतिरोध क्षमता बढाएको नेपालीको प्रतिरोधी क्षमता माथि हुन्छ,’ उनको दाबी थियो । उनले बेसारको विषयमा पनि लामै मन्तव्य दिएका थिए ।
कांग्रेस सांसद गगन थापाले महामारी सामना गर्न वैज्ञानिक रणनीति चाहिने भन्दै नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कुन अध्ययनले भनेको हो भनेर सोध्दा प्रधानमन्त्रीको जवाफ थियो, ‘कसले भनेको भनेर सोध्नुभयो, मैले भनेको, मैले । भर्खरै सुन्नुभएन । मैले भनेको हो ।’
प्रधानमन्त्रीको बेसार बयानबारे सार्वजनिक आलोचना भएपछि उनी हच्किएनन् । उनले ४ असारमा राष्ट्रिय सभामा यसरी आक्रोश पोखे, ‘बेसारको महत्वको विषयमा मैले बोल्दा सडकमा हल्काफुल्का टिप्पणी भए । बेसार एउटा एन्टिबायोटिक तत्व भएको औषधीय गुण भएको तत्व हो, त्यसैले त्यसको अर्थ छ भनेको हु“,’ उनले भने । तर, एन्टिबायोटिक गुण भएकाले बेसारले ब्याक्टेरियालाई मार्ने भए पनि कोरोना भने भाइरसबाट फैलिएको भन्ने तथ्यमा प्रवेश नै गर्न चाहेनन् ।
ठीक ढंगले भनिएको कुरालाई पनि नकारात्मक ढंगले लिने र त्यसको वास्तविक अर्थलाई उडाउन खोज्ने प्रवृत्ति बढेर गएको भन्दै उनले असन्तुष्टि पोखेका थिए ।
राष्ट्रिय सभामा बोल्दै फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने बताए । उनको भनाइ थियो, ‘साउनको अन्त्य वा भदौको सुरुतिर पिकमा पुग्ने अनुमान गर्छौँ । त्यसपछि यो ओरालो लाग्छ । र, यसलाई हामी क्रमशः नियन्त्रण गर्न सक्छौँ ।’
उनले हाच्छिउँसाच्छिउँ गरेर कोरोना उडाउन सकिने दाबी पनि प्रस्तुत गरे । ‘कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ,’ जनतालाई उनको सुझाब थियो ।
४ असारसम्म २० जनाको निधन भएको थियो । तब पनि कारण कोरोना हो भन्न उनले अस्वीकार नै गरेका थिए । ‘अहिलेसम्म २० जनाको मात्रै ज्यान गएको छ । त्यो पनि अन्य रोगले गर्दा भएको हो । तर, डब्लुएचओको मान्यताअनुसार कोरोना देखिएपछि त्यो कोरोनाकै कारणले मृत्यु भएको मान्नुपर्छ ।’
यसबीचमा एकपटक मात्र होइन, दर्जनौँपटक प्रधानमन्त्री ओलीले आफूखुसी बयान दिँदै आएका थिए । राजनीतिक दलहरूले पनि अहिलेको जटिल परिस्थित सिर्जना हुनुमा सरकारको कमजोर तयारीलाई नै मुख्य जिम्मेवार ठानेका छन् ।
‘सरकारले जुन काम गर्नुपर्ने हो, त्यो गरेको छैन । सरकार जनताको स्वास्थ्यप्रति पूर्ण रूपमा गैरजिम्मेवार र अनुत्तरदायी छ, भाषण मात्रै गर्छ, काम गर्दैन, काम नगर्ने प्रवृत्तिको नतिजास्वरूप अहिले महामारीले यो रूप लिएको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक कार्यक्रममा भने । उनले मान्छे मरिरहेको वेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप पनि लगाए । ‘एकातिर मान्छे मरिरहेका छन्, अर्कोतिर सरकार भ्रष्टाचारमा लिप्त छ, महामारी रोकथाम र नियन्त्रणमा सरकारी लापरबाहीकै कारण जनताले दुःख पाइरहेका छन्,’ देउवाले भने ।
कोरोनाबाट नागरिकहरू आक्रान्त भएको अवस्थामा सरकारले जिम्मेवारीपूर्वक आपत्कालीन व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको जसपाको आरोप छ । ‘अस्पतालहरूमा कोभिडका बिरामीका लागि बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको समेत अभावले जनताको अकाल मृत्युवरण भइरहेको छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा आइतबार जारी विज्ञप्तिमा छ । जसपाले स्वास्थ्यकर्मी, डाक्टर अर्थात् आवश्यक जनशक्ति, बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको यथाशीघ्र व्यवस्था गर्नसमेत माग गरेको छ ।नयाँपत्रिका बाट ।