काठमाडौं – झण्डै ६ महिनादेखि बन्द भएको आन्तरिक हवाई सेवा आज (सोमबार) बाट सञ्चालनमा आएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेपछि बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि सेवा सुरु गर्न अनुमति दिएको छ । सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो ।
आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । विमानस्थलको भीड व्यवस्थापन तथा मागका आधारमा उडानको कोटा निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।
सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुनेछ । उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ। त्यस्तै भाइजर पनि उनीहरूले अनिवार्य लगाउनुपर्ने छ तर भाइजर भने एयरलाइन्स आफैले व्यवस्था गर्नेछन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पनि स्वास्थ्य सावधानी र चेकिङको व्यवस्था मिलाइएको छ । विमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ भएको स्वयं घोषणा पत्र भर्नु पर्नेछ । नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ ।