अनुगमन टोलीमाथि व्यवसायीद्वारा दुर्व्यवहार

20

काठमाडौं – बजार अनुगमनमा गएका कर्मचारी माथि व्यवसायीले दुर्व्यवहार गरेका छन् । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बिहीबार काठमाडौंको न्युरोडमा अनुगमन गर्दा व्यवसायीले विरोध गर्दै नाराबाजी गरेका छन् । लत्ताकपडामा अस्वाभाविक मूल्यवृद्धि गरिएको सूचना पछि बिहीबार अनुगमनमा गएको विभागको तीन टोलीमाथि अवरोध गर्दै व्यवसायीले दुव्र्यवहार गरेका थिए ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले सरकारी अनुगमन टोलीलाई घेराउ गर्नु गलत भएको बताए । ‘बजार अनुगमन गर्दा व्यवसायीले घेराउ गरेका छन् । यो गलत हो,’ उनले भने, ‘विभाग कानुनी ढंगले अघि बढ्छ । अनुगमन रोकिदैन ।’ अनुगमनको क्रममा कैफियत भेटिए कारबाही हुने उनले बताए । करिब ५ वर्षअघि विभागको टोलीले न्युरोडमा अनुगमन गर्दा पनि व्यवसायीहरूले विरोध गरेका थिए ।

उनीहरूले अनुगमनको विरोध गर्दे तत्कालिन विभागका निर्देशक हरि नारायण बेल्बासेलाई पनि घेराबन्दी गरेका थिए । विभागको टोलीले बिशालबजारमा अनुगमन गर्दा अस्वभाविक मूल्य लिएको पाइएको थियो । त्यसपश्चात शिलबन्दी गर्न खोज्दा व्यवसायीले नाराबाजी गरेका थिए ।

नयाँ उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार निरिक्षण अधिकृतले अनुगमन स्थलमै जरिवानाको अधिकार दिएको छ । मूल्य सूची नहुँदा ५० हजार देखि १ लाख रुपैयाँ जरिवानाको अधिकार भएको श्रेष्ठले बताए । सोही ऐन कार्यान्वयन गर्न खोज्दा व्यवसायीहरूले विरोध गरेका हुन् । भीड शान्त भएपछि कम्प्लेक्सका अध्यक्ष र अनुगमन टोलीबीच छलफल भएको थियो । थप छलफलका लागि व्यवसायीहरू विभागमै आएका थिए । ‘हुलहुज्जत गर्न खोजेपछि थप छलफलका लागि विभागमा बोलाइएका थियो,’ विभागका निरीक्षण अधिकृत दिपक पोखरेलले भने, ‘अनुगमन र कारबाही ऐन अनुसार नै हुन्छ ।’

विभागले चाडबाडलाई लक्षित गरी न्युरोडमा रहेको रञ्जना कम्प्लेक्समा तीन टोली अनुगमन खटाएको थियो । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठ, निरज खत्री र निरजकुमार खत्री र कपिलप्रसाद रेग्मीको टोलीले अनुगमन गरेका थिए । अनुगमनको क्रममा व्यवसायीहरूले लत्ताकपडामा मूल्यसूची नराखी मनपरी मूल्य कायम गरेको भेटिएपछि ४ व्यवसायीलाई ५० हजार रुपैयाँको दरले जरिवाना गरेको थियो । त्यसपछि व्यापारीले विरोध गरेको निरीक्षण अधिकृत श्रेष्ठले बताए ।

समाचार वर्गहरू